प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अर्ली इलेक्सन’बारे गठबन्धनमा छलफल गरेर निर्णयमा पुग्न सकिने बताएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै अर्ली इलेक्सनमा जान काँग्रेसलाई कुनै समस्या नभएपनि गठबन्धनका अन्य दलमा निर्भर रहने बताए ।
साथै देउवाले एमसीसी पारित गरिने बताए । ‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘यो ठूलो अनुदान हो, ऋण होइन।’ उनले एमसीसीबारे झुठा प्रचार भइरहेको पनि बताए। एमसीसी नेपालको कानुनभन्दा माथि नरहेको पनि उनको भनाइ थियो। नेपालकै कानुनअनुसार नै एमसीसी अगाडि बढ्ने उनले बताए।
साथै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको १४ औं महाधिवेशन प्रक्रिया अगाडि बढिरहेको पनि बताए। महाधिवेशन सर्नेबारे सोधिएको प्रश्नमा देउवाले यसबारे आफूलाई भन्दा निर्वाचन समितिलाई थाहा हुने जवाफ दिएका छन्।




