Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

कुशवाहामाथि दुर्व्यवहार गर्ने १७ जनाविरूद्ध मुद्दा दर्ता


खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ जना कार्यकर्ताविरूद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ। जनमत पार्टीका नेता कार्यकर्ताहरूले प्रमुख कुशवाहालाई कार्यालयबाट निकालेर कालोमोसो तथा कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए। उनीहरुले कुशवाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलेर अर्धनग्न बनाएका थिए।

सिके राउतका कार्यकर्ताले खानेपानीका हाकिमलाई अर्धनग्न बनाएर बजार परिक्रमा गराए उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले बिहीबार ६२ जनालाई नियन्त्रणमा लिएको थियो। जसमध्ये १७ माथि सरकारी वकिलको कार्यालयमार्फत् मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

डिएसपी बस्नेतका अनुसार जनमत पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र महतो, धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य दुर्योधन यादव, प्रेम किशोर यादव, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, नेताहरू संजय प्रधान, धनिकलाल कापर, विक्रमकुमार साह, कैलाशप्रसाद साह, दिनेश रजक साफी, रामकरण यादव, संजय कुमार सिंह, सञ्जय साह, महेश कुमार यादव, अमरनाथ साह र सुन्दर मण्डल विरूद्ध मुद्दा दर्ता गरिएको छ।

उनीहरूमाथि ‘विरूद्ध अपराधी प्रवेश तथा अपराधी उपद्रव’ शीर्षकमा मुद्दा चलाइएको हो। उनले भने, ‘यस मुद्दामा क्षतिपूर्तिसहित अधिकतम चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ।’


प्रतिक्रिया दिनुहोस !
विचार