
धर्म, संस्कृति संरक्षण तथा सामाजिक र मानवीय हीतमा कार्यमा सकृय रहेको संस्था ‘हामी मानवता वचाउँ’ले पोखराको सेती खोँचमा भएको यती एयरलाइन्स दुर्घटनास्थलमा श्रीमद् भागवत सप्ताह लगाउने भएको छ ।
गत माघ १ गते काठमाण्डौबाट उडेको सो विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा चालक दलका ४ जना सदस्य सहित ७२ जनाको अकालमा मृत्यु भएको थियो ।
विमानमा सवार सबैजनाको अकालमा मृत्यु भएपछि सेती खोँचमा तर्साउने गरेको भनेर स्थानीय वासिन्दाले सो संस्थामा पुजा लगाउन आग्रह गरेपछि संस्थाले त्यहाँ श्रीमद् भागवत सप्ताह लगाउने निर्णय गरेको हो । २०८० साल बैशाखमा वृहस्पति उदयपछि अर्थात बैशाख २० गतेपछि संस्थाले त्यहाँ सप्ताह लगाउने भएको हो ।
स्थानीय वासिन्दाले घटनास्थल वरिपरि रातभरी तर्साएको गुनासो गरेपछि केही समयअघि पोखरा महानगरपालिकाले पुजा लगाएको थियो । तैपनि त्यहाँ तर्साउन नछोडेको उनीहरुको गुनासो छ ।
‘हामी मानवता वचाउँ’ संस्थाको कोटेश्वररमा सम्पन्न चौथो वार्षिक साधारण सभामा संस्थापक तथा संरक्षक अध्यक्ष राम लम्सालले पोखराको सेती खोँचमा श्रीमद् भागवत सप्ताह लगाउने र यसको लागि आवश्यक खर्च संस्थाका सदस्यहरुबाट संकलन गरिने बताउनुभयो ।
पुर्व कानून सहायक मन्त्री एवम् संस्कृतिवीद् दीनवन्धु अर्यालको प्रमुख आतिथ्यमा भएको संस्थाको चौथो वार्षिक साधारण सभामा संरक्षक राम लम्सालले संस्थाका आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अर्यालको साथै कोटेश्वर समाज सुधार युवा क्लवका अध्यक्ष सुवास रिमाल, सामुदायिक समाज तथा विकास केन्द्रका महासचिव रविन्द्र थापा, सामुदायिक प्रहरी सेवाकी सहायक हवल्दार सन्तोषि खड्का, आत्मज्ञान प्रचार केन्द्र कोटेश्वर उपशाखाकी प्रचार सहायक तारा तण्डुकार, गैर आवासिय नेपाली संघका केशव खनाल लगायतलाई मायाको चिनो प्रदान गरियो ।
संस्थाका केन्द्रीय सदस्य दिनेशराज सुवेदीले संस्थाले गरेको मानवीय र धार्मिक र सामाजिक कार्यबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।