बलराम प्यासी
ललितपुर, २ जेठ । किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्काे ललितपुरमा पहिलोपटक गरिएको कलेजो प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ ।
गएको बैशाख १२ गते सो अस्पतालमा शंखरापुर नगरपालिका वडा नं ६ इपा टोल, साँखुका ५० वर्षे पति कृष्ण गोपाल प्रजापतिलाई उनकी पत्नि ४८ वर्षिया लक्ष्मी श्रेष्ठ प्रजापतिको कलेजो प्रत्यारोपण गरिएको थियो ।
किस्ट मेडिकल कलेज शिक्षण अस्पतालको इतिहासमै पहिलोपटक गरिएको कलेजो प्रत्यारोपण सफल भएर शल्यक्रिया गरिएको घाउ निको भएपछि कलेजो ग्रहणकर्ता कृष्ण गोपाल र दाता लक्ष्मी दुवैजना २२ औं दिनमा बुधबार अस्पतालबाट घर फर्केका छन् ।
भारतको इन्द्रप्रस्थ एपोलो अस्पताल दिल्लीका वरिष्ठ कलेजो प्रत्यारोपण विशेषज्ञ टोलीको सहयोगमा किस्ट मेडिकल कलेजका वरिष्ठ प्रत्यारोपण विशेषज्ञ सहितको ४० जनाको टोलीले साँढे १५ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका थिए ।
कलेजो ग्रहणकर्ता र दाताको स्वास्थ्य अवस्था सामान्य भएपछि २२ औं दिनमा डिस्चार्ज गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिष पाठकले बताउनुभयो । ‘उहाँहरु ठीक भएपछि अस्पतालका चिकित्सकको सल्लाह बमोजिम घर पठाएका हौं’—पाठकले भन्नुभयो ।
पहिलोपटक कलेजो प्रत्यारोपण गरिएकोमा सो कार्य सफल भएकोले अबदेखि किस्ट अस्पतालमा कलेजो प्रत्यारोपण गर्न सक्षम भएको बताइन्छ । सो अस्पतालले ८४ जनाको सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिसकेको छ ।
कलेजो विग्रेर पटक पटक वेहोस भई विभिन्न अस्पतालमा धाउँदै आइसियु कक्षमा पटक पटक उपचार गराईसकेका कृष्ण गोपालको स्वास्थ्य अवस्था निकै जटिल भएपछि प्रत्यारोपणको लागि लक्ष्मी (दाता) र कृष्ण गोपाल (लिने) दुवैजना बैशाखको पहिलो हप्ता सो अस्पतालमा भर्ना भएका थिए ।
कृष्ण गोपाललार्ई कलेजो प्रत्यारोपण गर्ने कार्यमा एपोलो अस्पताल दिल्लीका वरिष्ठ कलेजो प्रत्यारोपण विशेषज्ञ डा.निरव गोयल नेतृत्वको वरिष्ठ प्रत्यारोपण विशेषज्ञहरु सहितको टोलीमा किस्ट मेडिकल कलेजको कलेजो प्रत्यारोपण तथा ग्यास्ट्रो हेपाटो विलियरी सर्जरी विभागका प्रमुख प्रा.डा.मुकुन्दराज जोशीको टोली सहभागी थियो ।
कलेजो प्रत्यारोपण सफल भएर घाउ निको भएपछि कृष्णगोपाल र लक्ष्मी लार्ई घर पठाउनुअघि किस्ट अस्पताल प्रशासनले उनीहरुको सम्मानमा मंगलबार विदाई कार्यक्रमको आयोजना गरेको थियो ।








