प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन्। आज प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले किसानलाई विशेष राहात प्याकेज घोषणा गर्ने बताए ।
खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै उनले पहिला गास, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए ।
प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीको समेत प्रशंशा गरे । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताए ।





