Logo
५ श्रावण २०८३, मंगलवार
|  Tue Jul 21 2026

इच्छाराज तामाङ ६० दिनसम्म थुनामा रहन सक्ने,सम्पत्ति विदेश पुगेको आशंका


सिभिल सहकारीका हजारौं निक्षेपकर्तालाई रुवाएर सिभिल बैंक,सिभिल होम्सलगायत एक दर्जनभन्दा बढी कम्पनीको अध्यक्ष भएका इच्छाराज तामाङ प्रहरी हिरासतमा बसेको आज ठ्याक्कै तीन साता भयो । यसबीच प्रहरीले दुई पटक म्याद थपेर ठगीमा अनुसन्धान गरेको छ । अब भने संगठित अपराधमा म्याद थपिएको छ । तामाङसहित एक दर्जनलाई प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी) ले कारबाही प्रक्रिया अघि बढाएको हो ।

उनीहरुलाई शुरुको दिनदेखि नै छुट्टाछुट्टै हिरासतमा राखिएको छ । तामाङलाई प्रहरी प्रभाग सोह्रखुट्टेमा राखिएको छ भने,केहीलाई महाराजगञ्ज र बाँकीलाई सीआईबीमा थुनिएको हो । संगठित अपराधको अनुसन्धानमा ६० दिनसम्म थुनामा राख्न सकिने ब्यवस्था छ । हालसम्म ११ सय उजुरीकर्ताले तामाङलगायतको समूहले ४ अर्ब ६६ करोड रुपैयाँ ठगेको निवेदन पेश गरेको प्रहरीले बताएको छ ।

सहकारीको निक्षेप दुरुपयोग गरेर सिभिल होम्सलगायतका व्यवसाय चलाउँदै आएका तामाङ र उनको समूहले गरेको आम्दानीका अधिकाँश हिस्सा अहिलेसम्म प्रहरीले फेला पार्न सकेको छैन । कतिपयले बेलायत बस्दै आएकी छोरीमार्फत् विदेश ओसारेको आशंका गरेका छन् । प्रहरीले त्यसमा पनि थप अनुसन्धान गरिरहेको छ । स्रोतले भन्यो, ‘जे होस् उनीहरुले गरेको आम्दानी चाहिँ अहिलेसम्म हराएको देखिन्छ ।’

हिरासतमा रहेका सबैको सम्पत्तिबारे अहिले सम्पत्ति शुध्दिकरण अनुसन्धान विभागले समेत चासोका साथ खोजबिन गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार