अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठनले उपलब्ध गराइएको कोरोनाविरुद्ध खोप सोमबार बिहान कतार एअरवेजको विमानमार्फत काठमाडौं आइपुगेको हो।
माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा उपलब्ध गराएको हो। अमेरिकाबाट आएको फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसअघि नै जनाइसकेको छ।
उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ। नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिजर उपलब्ध गराइसकेको छ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ। उक्त खोप भण्डारणका लागि समेत व्यवस्थापन महाशाखाले भौतिक पूर्वाधार निर्माण भइरहेको जनाएको छ।






