सरकारले बाढी तथा डुबानबाट धानबालिमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल बनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धान बालिमा भएको क्षतिको अध्ययन गरी ३ दिनभित्र प्रतिवेदन पेश गर्न गृहमन्त्रालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
कार्यदलका अन्य सदस्यहरुमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेको पनि उनले जानकारी दिए । त्यसैगरी बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने पनि निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्ने, नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको पनि उनले बताए ।





