कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण धानबालीमा करिब ८ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक तथ्यांक अनुसार सात वटै प्रदेशका १९ जिल्लामा उक्त रकम बराबरको धानबाली क्षति भएको हो। मन्त्रालयको प्रारम्भिक विवरण अनुसार ८५ हजार ५८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ। सो क्षेत्रफलमा लगाइएको बालीमा भएको क्षतिबाट ३ लाख २५ हजार २५९ टन धानमा क्षति पुगेको मन्त्रालयको अनुमान छ।
मन्त्रालयको प्रारम्भिक प्रक्षेपण अनुसार सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा र त्यसपछि सुदूरपश्चिम प्रदेशमा भएको छ। लुम्बिनी प्रदेशमा १० हजार ५८४ हेक्टर क्षेत्रफल जमिनमा लगाएको धानबाली क्षति भएको छ। लुम्बिनीमा ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा नराम्रो असर परेको पनि मन्त्रालयको प्रक्षेपण छ। लुम्बिनीमा असर परेको र क्षति भएको गरी कुल ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको प्रारम्भिक अनुमान छ। त्यस्तै सुूरपश्चिममा ५५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा नराम्रो असर पुगेको र ६८ हजार ४ सय हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली क्षति भएको मन्त्रालयको प्रक्षेपण छ। मन्त्रालयका अनुसार सुदूरपश्चिममा १ अर्ब ९१ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
प्रदेश १ मा ८० करोड रुपैयाँ बराबरको क्षति भएको छ। प्रदेश २ मा ५६ करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको अनुमानित तथ्यांक छ। बागमती प्रदेशमा ५ करोड ८० लाख, गण्डकीमा १३ करोड रुपैयाँ तथा कर्णालीमा ३० करोड रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको अनुमान छ।
मन्त्रालयका अनुसार प्रदेश १ का झापा, मोरङ र सुनसरी, प्रदेश २ का सप्तरी, सिरहा र सर्लाही, बागमतीका चितवन र नुवाकोटमा धानबालीमा क्षति पुगेको छ। त्यस्तै गण्डकीका स्याङ्जा र कास्की, लुम्बिनीका बर्दिया, बाँके, कपिलवस्तु र रुपन्देही तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा भएको क्षति तथ्यांकमा समेटिएको छ।








