विवेकशील साझा पार्टीका नेता हरिश भट्टले आफूहरुको समुह नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । आफू लगाएतका विवेकशील साझाका नेताहरुले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेको तस्बीरलाई कुनै एउटा मिडियाले गलत र तथ्यहीन तबरले समाचार बनाएको उनले उल्लेख गरेका छन् ।
आफूहरुले विभिन्न दलका नेताहरुसँग नागरिकको समस्याका विषयमा केन्द्रित रहेर भेटघाट गर्ने गरेको उल्लेख गर्दै उनले भ्रम फैलाउँने किसिमले समाचार बनाइएको आरोप लगाएका छन् । आफूहरुले राजावादी पार्टीका नेतासँग समेत केहीदिन अघि भेटेको स्मरण गर्दै नेता भट्टले कुनै तस्वीर सार्वजनिक हुने गरेको र कुनै नहुने गरेको बताएका छन् । नेता भट्टले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेका छन् : गलत समाचारको भ्रममा नपर्नुहोला ,
एउटा मिडियाले म लगायत विवेकशील साझा पार्टीका केहि साथीहरूले अघिल्लो हप्ता नेकपा (एस)का अध्यक्ष माधव नेपालजीलाई भेटेको तस्बिरलाई गलत तरिकाले प्रस्तुत गरेर पार्टी प्रवेश गर्न लागेको भन्ने गलत र तथ्यहिन समाचार बनाउनुभएछ । यो समाचार गलत हो ।
म\हामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौं । अघिल्लो हप्ता हामीले काँग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भेटेर राष्ट्रिय राजनीतिबारे छलफल गरेका छौं । सुझाव दिएका छौं । हरेक भेटमा हरेक नेताहरूसँग नागरिकको मुद्दामा कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल गर्छौं । जुन सामान्य कुरा हो । केहि दिन अघि एउटा राजावादी पार्टीका नेतासँग भेट भएको थियो। त्यो भेटमा पनि हामी कसरी नागरिकको जीवनस्तरसँग जोडिएका विषयमा सँगै देशको लागी काम गर्न सकिन्छ भनेर छलफल भएको थियो। कुनै फोटो मिडियामा आउँछ, कुनै आउँदैन।
वैकल्पिक राजनीति यति सस्तो र यति कमजोर छैन । विवेकशील आन्दोलनलाई सिद्ध्याउन केहि÷कोही लागेका छन् । सचेत रहौँ है । कोही साथीहरू पनि भ्रममा नपर्नु होला। विवेकशील साझाको आन्दोलन अब झन् सशक्त भएर अघि बढ्ने छ । राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने प्रोग्रेसिभ लोकतान्त्रिक शक्ति बन्नेछ ।’





