Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

नवलपरासीमा एचआइभी संक्रमित पाँचको मृत्यु, १३ जना नयाँ थपिए


नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी संक्रमित थपिएका छन्।

नवलपरासीमा गत आवमा मात्रै १३ नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताए। साथै जिल्लामा एक वर्षमा पाँच संक्रमितको मृत्यु भएको छ। जिल्लामा हाल नयाँ र पुराना गरी एक सय २० एचआइभी संक्रमित रहेको तिवारीले जानकारी दिए।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा आव २०७७/७८ मा ८२, २०७८/७९ मा एक सय सात जना र २०७९/८० मा एक सय २० जनामा एचआइभीको संक्रमण भेटिएको छ, उनले भने। गत आवमा भेटिएका एक सय २० जना एचआइभी संक्रमितमध्ये दुई जना पाँचदेखि १४ वर्षसम्मका बालबालिका रहेका छन्।

संक्रमितमध्ये ५१ पुरुष र ४८ महिलासहित ९९ जनाले निरन्तर औषधि खाइरनुभएको छ, उनले भने, पाँच पुरुष र चार महिलासहित नौ जना यस जिल्लाबाट आफ्नै जिल्ला गइसकेका र पाँच पुरुषले औषधि सेवन गर्न छाडेका छन्।

सन् २०३० सम्म एचआइभीको संक्रमणलाई अन्त्य गर्ने सरकारको नीति भए पनि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा एचआइभी संक्रमितको संख्या भने बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले बताए।

स्वास्थ्य कार्यालयमार्फत पालिकाहरूले पनि नीतिगत योजना बनाएर एचआइभी संक्रमितको स्वास्थ्योपचारदेखि जीविकोपार्जनलगायतका कार्यमा ध्यान दिनुपर्ने देखिन्छ, उनले भने, लुकेर बसेका कैयौँ रोगी छन्, कैयौँ संक्रमित छन् त्यस्तालाई हेला गर्नु हुँदैन भन्ने सचेतना जगाउनेदेखि उनीहरूको जीविकोपार्जनका विषयमा स्थानीय तहदेखि नै योजना बनाउन आवश्यक छ।

अझै पनि समाजमा एचआइभी संक्रमित र तिनका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनी प्लसका अध्यक्ष निर्मला पौडेलले बताइन्।

जिल्लामा संक्रमित र प्रभावितका विभिन्न खालका समस्या रहेकाले संक्रमितहरू सार्वजनिक हुन नचाहेकाले पनि समन्वय गर्न चुनौती रहेको उनको भनाई छ । उनले भनिन् ‘एचआइभी संक्रमित हुनु जीवनको अन्त्य होइन नयाँ जीवनको सुरुआत हो भन्ने चेतना समाजमा अझै पुग्न बाँकी देखिन्छ।

नियमित औषधि सेवन गर्न, रोग नलुकाउन र आफू संक्रमित भए पनि अरू संक्रमित नहुन् भन्ने जनचेतना ग्रामीण भेगसम्म पुर्याउन आवश्यक रहेको पौडेलले बताइन्। संक्रमित भएपछि जीवन सहजरूपमा चलाउन सकिन्छ, संक्रमितले पनि उपचार अवसर र साथ पाएमा लामो समयसम्म बाँचेर समाज परिवर्तन गर्न सक्छन्, उनले भनिन्।


प्रतिक्रिया दिनुहोस !
विचार