सरकारले बेमौसमी वर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेर धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कट्ठासम्म जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशत, १० कट्ठादेखि ३ बिघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ बिघाभन्दा बढी जग्गा भएका किसानलाई क्षतिको २० प्रतिशतका दरले सरकारले न्यूनतम समर्थन मूल्य कायम गर्दा निर्धारण गरेको उत्पादन लागत बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको हो।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनाउने र कार्यदलले ५ दिनभित्र कार्यविधि बनाई स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
यसैगरी नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई भारत भ्रमणको स्वीकृति दिने, नेपाली सेनाका उपरथी सरोजप्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ। साथै बैठकले महालेखा परीक्षकको कार्यालयमा रिक्त उपमहालेखापरीक्षक पदमा महेश्वर काफ्ले र वामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ।





