तेह्रथुमको छथर गाउँपालिका ५ का गोपाल ढकाल मृत अवस्थामा भेटिएका छन् । भक्तपुरको सिपाडोल बस्दै आएका ढकाल सुर्यविनायक नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय नजिकै मृत अवस्थामा भेटिएका हुन् । ३३ वर्षिय ढकालको हत्या भएको बुझिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार वडा कार्यालय नजिकै कच्चा इँटा र माटोले बनेको एक कच्ची घरमा उनको शव फेला परेको हो ।
ढकाल फागुन ९ गते राति ८ बजे कोठाबाट निस्केका थिए । तेल किन्न भनी निस्केका ढकाल भोलिपल्टसम्म पनि कोठामा नफर्केपछि उनका आफन्तले ढकाल हराएको भन्दै प्रहरी वृत्त जगातीमा निवेदन दिएका थिए ।
ढकाल बेपत्ता भएको केही समयपछि उनकै मोबाइलबाट अपरिचित व्यक्तिले श्रीमतिको मोबाइलमा फोन गरी २ लाख रुपैयाँ माग गरेको बुझिएको छ । तर, पछि अपरिचित व्यक्ति सम्पर्कमा आएन ।
प्रहरीले खोजतलास गर्दा घर नजिकै शरीरभरी चोट लागेको अवस्थामा उनी मृत अवस्थामा फेला परे । उनको हत्याको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा समेत लिएको छ । उनीहरुमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।