नेपालमा ३४ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणअनुसार कुल पुरुषमध्ये ५७ प्रतिशत र कुल महिलाको ११ प्रतिशत गरी समग्रमा ३४ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको हो ।
सर्वेक्षणअनुसार सबैभन्दा धेरै कर्णाली प्रदेशका मानिसहरुले सुर्तीजन्य पदार्थको प्रयोग गरेकोे पाइएको छ । कर्णालीमा ४७ दशमलव ८ प्रतिशत मानिसले कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थको प्रयोग गरिरहेको पाइएको हो । सबैभन्दा कम वाग्मती प्रदेशमा २४ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको देखिएको छ ।
सुर्तीजन्य पदार्थ प्रयोग गर्ने ३४ प्रतिशतमध्ये सबैभन्दा धेरै ५५ देखि ६९ वर्ष उमेर समूहका मानिस धेरै छन् । युवा वर्गमा हुक्का र ई–सिगरेटको प्रयोग बढ्दै गएको सर्वेक्षणले देखाएको छ । अध्ययनले सुर्तीजन्य पदार्थको प्रयोगको असरबाट नेपालमा हरेक वर्ष ३७ हजार ५२९ जनाको ज्यान जाने गरेको देखाएको छ ।
सर्वेक्षण सन् २०२४ को शुरुवातमा सबै प्रदेशका १८ ठाउँ छनौट गरी गरिएको थियो । सर्वेक्षण प्रतिवेदनमा सुर्तीजन्य बस्तुकोे नियन्त्रणका निम्ति कर र खरिद मूल्य बढाउनुपर्ने सुझाव छ । अहिले नेपालमा सुर्तीजन्य बस्तुको खुद्रा मूल्यमा ४१ प्रतिशत कर लगाइएको छ । यो दक्षिण एसियाली देशमध्ये सबैभन्दा कम रहेको प्रतिष्ठानले जनाएको छ । विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशत कर लगाउनुपर्ने मापदण्ड तोकेको छ ।
अहिलेको तुलनामा ३५ प्रतिशत कर वृद्धि हुँदा १२ देखि १४ अर्बसम्म राजस्व बढ्ने र आठ प्रतिशत खपत घट्ने देखिएको छ । सुर्तीजन्य पदार्थ सेवन गर्दा मुखको क्यान्सर हुन्छ । त्यस्तै ओठ, जिब्रो, गिजामा घाउ, अल्सर र बिस्तारै क्यान्सर हुने गर्छ । मुखका विभिन्न अंगमा हुने यस्ता क्यान्सर चुरोट, गुट्खा वा सुर्तीबाट हुने गरेको विशेषज्ञहरुको भनाइ छ । लामो समयसम्म गुट्खा सेवन गर्ने व्यक्तिमा सबम्युकेस फाइब्रोसिस हुने गर्छ । जुन मुखमा हुने एकप्रकारको जटिल रोग हो ।
सुर्तीजन्य पदार्थमा हुने तत्वले मुखको छालामा असर गर्दै जान्छ । बिस्तारै राम्ररी मुख खोल्न नसक्ने, मुखको आकार सानो हुँदै जाने हुँदा खाना चपाउन नसक्ने, खाना निल्न समस्या हुनेजस्ता जटिलता देखिन्छन् । सुर्तीले मुखमा मात्रै नभई पेट र आन्द्रामा पनि उत्तिकै असर पारिरहेको हुन्छ । गुट्खा सेवन गर्ने व्यक्तिमा पाचन प्रणालीमा समस्या देखिन्छ । खानानली, आन्द्रा र पेटमा घाउ, अल्सर र क्यान्सर हुने हुनाले यसको प्रयोग नगर्नु नै उत्तम हुने स्वास्थ्य विशेषज्ञहरुको सुझाव छ ।
यसैबीच आइतबार ‘मेरो स्वास्थ्य मेरो अधिकार’ भन्ने नारासहित देशभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।