
लगानी बोर्डले धादिङको बेनिघाट रोराङ–२ ताल्तीमा चिनियाँ लगानीमा स्थापना भएको हुवासिन सिमेन्ट नारायणी उद्योगको लगानी स्वीकृत गरेको छ । मंगलबार काठमाडौंमा बसेको बोर्डको ५८ औं बैठकले उद्योगले ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ लगानी थप्ने प्रस्ताव स्वीकृत गरेको हो ।
बैठकले ह्वासिनसिमेन्ट परियोजनाको लगानी स्वीकृत गर्नका लागि अध्ययन प्रतिवेदनका आधारमा ६ अर्ब६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत दिएको बोर्डका प्रवक्ता एवंसहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले बताएका छन् ।यसअघि लगानी बोर्डको ५७ औं बैठकले थप लगानी सम्बन्धी विषमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न बोर्ड कार्यालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदलको सिफारिसका आधारमा मंगलबार बोर्डले लगानी स्वीकृत गरेको हो । उद्योगले प्रस्तावित लगानी वायोमासबाट बिजुली उत्पादन र अन्य पूर्वाधार निर्माण गर्ने भएको छ । उद्योगले २०७९ भदौबाट व्यवसायिक रुपमा सिमेन्ट उत्पादन थालेको थियो ।
सिमेन्ट उत्पादनका लागि आवश्यक पूर्वाधार बनाउन हुवासिनले १५ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । उद्योगले दैनिक ३ हजार टन सिमेन्ट र कच्चावस्तु क्लिन्कर उत्पादन गर्छ । उद्योगले भर्टिकल रोलर मिल (भिआरएम) प्रविधिबाट सिमेन्ट उत्पादन गरिरहेको छ । भिआरएम सिमेन्ट उत्पादन गर्ने अत्याधुनिक प्रविधि हो । नेपाल विद्युत प्राधिकरणले उद्योगलाई २० मेगावाट बिजुली मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनबाट उपलब्ध गराइरहेको छ ।
विसं २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पनीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड रुपैयाँ लगानी गरेको थियो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउन सरकारले स्वीकृति दिएको थियो । बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ गते उद्योग स्थापनाका लागि सम्झौतापत्रमा चीनको राजधानी बेइजिङमा हस्ताक्षर भएको थियो ।
उद्योगले २०७८ पुसदेखि नै परीक्षण उत्पादन गरेको थियो । अहिले उक्त उद्योगमा सयौंले रोजगारी पाएका छन् । उद्योग आफैंले धुलो तथा पानीको बाफ प्रयोग गरेर आन्तरिकरुपमा नै वेस्ट हिट रिकभरीमार्फत पाँच मेगावाट बिजुली आफैंले उत्पादन गरेको छ । लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड रूपैयाँ बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले थप तीन अर्ब रूपैयाँ लागत बढ्न गएको थियो । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाइएको थियो ।
नेपालमा हाल झण्डै ३५ लाख मेट्रिकटन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ६० लाख मेट्रिकटन पुगिसकेको छ । मुलुकभर ६० सिमेन्ट र २० वटा क्लिङकर उद्योग सञ्चालनमा छन् । अझै केही उद्योगहरु पाइपलाइनमा छन् ।
आगामी बैशाख १६ र १७गते हुन लागेको तेस्रो लगानी सम्मेलनका क्रममा एक सय ४८ आयोजनाहरु शोकेशमा राखिने बोर्डले जनाएको छ ।