Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

७१ जिल्लामा फैलियो डेङ्गु, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह


डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको चिकित्सकको भनाई छ । गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गु रोगको अत्यधिक संक्रमण बढेको चिकित्सकहरुले बताएका छन् । “गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ ।

मन्त्रालयका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमणमा देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । पछिल्लो समय कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको छ ।

काठमाडौँ उपत्यकामा एक सय १४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ ।

डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ ।

यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार