Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

रविका झुट, संसदबाटै झुक्याउने प्रयास


रवि लामिछानेको बोल्ने कला बेजोडको छ । हुँदै नभएका कुरालाई पनि उनी हो कि क्या हो झैंं गरी प्रस्तुत हुन्छन् । शुक्रबार पनि उनी संसद बैठकमा त्यसैगरी प्रस्तुत भए । आफू गृहमन्त्री बनेपछि सुशासनका क्षेत्रमा व्यापक काम भएको दाबी गर्दै लामिछानेले सुशासनका क्षेत्रमा काम गर्न थालेपछि कांग्रेस एमाले अत्तालिएर सरकार ढालेको जिकिर गरे ।

भ्रष्टाचारका फाइल खोल्न थालेको २४ घन्टामै सरकार ढालिएको आरोप लगाउँदै उनले विभिन्न प्रकरणका फाइल खोलेर आफूले सुशासनको जग बसालेको दाबी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मागेको विश्वासको मतका विषयमा भइरहेको छलफलमा लामिछानेले आफू सरकारमा गएपछि आफ्नो पहलमा भएका सुशासनका काम भन्दै लामो फेहरस्ती प्रस्तुत गरे । जुन फेहरस्तीका अधिकांश कुरा सही देखिदैनन् । नक्कली भुटानी शरणार्थी प्रकरणको फाइलदेखि लिएर बाँसबारी छाला जुत्ता प्रकरणको फाइल खोल्ने सम्मको काम आफ्नै पालामा भएको जसरी उनी प्रस्तुत भए । तर, रवि लामिछानेले जस लिन खोजेका अधिकांश कामहरु उनी गृहमन्त्री हुनु भन्दा पहिले नै अघि बढेको देखिन्छ । रवि लामिछाने अघिल्लोपटक अर्थात २०७९ पुसमा गृहमन्त्री हुँदा जम्मा ३२ दिन पदमा रहन पाए । ३२ दिनको समय आफ्नै नागरिकताको विषयले न भोक न निन्द्राको अवस्थामा पुगेका लामिछानेले त्यतिबेला फाइल खोल्ने भन्ने कुरै भएन ।

२०८० फागुन २३ गते गृहमन्त्रीमा नियुक्त भएपछि उनले विभिन्न समयमा भएका कामको जस पनि आफैंले लिन खोजे । जस्तो नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान भएर विभिन्न व्यक्तिमाथि २०८० जेठ १० गते मुद्दा दर्ता भएको थियो । त्यतिबेला गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए । श्रेष्ठकै पालामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमझीदेखि लिएर बालकृष्ण खाँण सम्मका नेताहरु पक्राउ परे । तर, रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल आफैंले खोले झैं गरी जस लिन खोजे । केहीदिनअघि बेचन झा नाम गरेका व्यक्ति पक्राउ गर्नुलाई रवि लामिछानेले आफ्नो कार्यकालको ठूलो उपलब्धि ठानेको भए बेग्लै कुरा । नत्र रवि लामिछाने गृहमन्त्री हुनुपूर्व नै यो प्रकरणमा देशका पूर्व उपप्रधानमन्त्री सहित उच्च ओहोदामा पुगेकाहरु पक्राउ परिसकेका थिए । बरु लामिछानेले शरणार्थी प्रकरणमा ठूला पार्टीका ठूलै नेता समातिँदैछन् भन्दै आफू नजिककामार्फत झ्याली पिट्न लगाए । अनुसन्धान र पक्राउ जस्तो विषयमा पनि झ्याली पिट्ने शैली आफैंमा अनौठो थियो । हुँदा हुँदा रवि लामिछानेले बेचन झा पक्राउका कारण सरकार ढालिएको आरोप लगाएपछि त राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई पनि खपिनसक्नु भयो । त्यहीभएर संसदमा ज्ञानेन्द्र शाही यसरी प्रस्तुत भए ।

सुन तस्करीको अनुसन्धान पनि आफ्नै नेतृत्वमा भएको झैं गरी गृहमन्त्री लामिछानेले जस लिनका लागि अनेक वृतान्त सुनाए । तर, यो प्रकरणमा २०८० असोज ९ र असोज २३ मा नै मुद्दा दर्ता भइसकेको थियो । जतिबेला रवि लामिछाने गृहमन्त्री थिएनन् । उनी गृहमन्त्री भएको त ०८० फागुन २३ मा हो । बरु यो प्रकरणमा छानबिन आयोगले नाम लिएकाहरुलाई रवि लामिछानेले छुने आँट गरेनन् । त्यस्तै बाँसबारी जग्गा प्रकरणको अनुसन्धानको जस पनि उनले लिन खोजेको देखियो । तर, उनी गृहमन्त्री हुनुपूर्व नै नारायणकाजी श्रेष्ठको पालामा अरुण चौधरी पक्राउ परिसकेका थिए । २०८० माघ १८ गते चौधरी सहितका व्यक्ति पक्राउ परेका थिए । तर, रवि लामिछानेले यसको जस आफूले लिन खोज्दै बारम्बार संसदमा बाँसबारी जग्गा प्रकरणको विषय उठाए । र, आफूले सुशासनको जग बसालेको दाबी गरे । यस्तै पतञ्जली जग्गा प्रकरणको अनुसन्धान २०८० कात्तिकदेखि अघि बढेको हो । तर, लामिछानेले यो कामलाई पनि आफू गृहमन्त्री बनेपछि अघि बढाएको रुपमा संसदमा प्रस्तुत भए । उनको पालामा यो प्रकरणमा थप केही नतिजा आएको भए हो नि भन्न सकिने स्थिती पक्कै पैदा हुन्थ्यो । यस्तै बालमन्दिर जग्गा प्रकरणको अनुसन्धान २०७८ बाट अख्तियारले गरिरहेको थियो । जतिबेला रवि लामिछाने राजनीतिमा होइन टेलिभिजनमा थिए । तैपनि यसको जस लिन उनले संसदको रोष्ट्रम प्रयोग गरे । यस्तै जानकी मन्दिर जग्गा प्रकरणको अनुसन्धान उनी गृहमन्त्री हुनुपूर्व २०८० मंसिरबाट अघि बढेको हो । तर, लामिछानेले त्यसको जस पनि आफैंले लिन खोजे ।

जसको भोक रवि लामिछानेमा थिएन भने सायद उनले यी विविध प्रकरणका फायल खोलेकोमा अघिल्ला गृहमन्त्री नारायणकाजी श्रेष्ठको नाम लिन्थे होलान् । त्यतिबेलाका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद भन्थे होलान् । तर, सबै जस लिने लोभमा उनी यसरी लागे कि खै के गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तै भयो ।


प्रतिक्रिया दिनुहोस !
विचार