गृहमन्त्री बालकृष्ण खाणले सत्तारूढ गठबन्धन चुनावसम्म कायम रहने दाबी गरेका छन् । उनले सँगै चुनाव लड्ने संकेत गरे । कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका खाणले आइतवार आफ्नो गृहनगर रुपन्देहीको तिलोत्तमास्थित आफ्नै निवासमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्दै अहिलेको गठबन्धन चुनाव गराउने बताए ।
खाणले थपे, ‘संविधानको रक्षा, जनताको चाहना र विश्वासलाई अझ मजबुद गठबन्धन अगाडि बढेको छ ।’ कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री खाणले संविधानलाई सबैको स्वामित्वमा कसरी स्थापित गर्ने, संविधानको मुलधारमा नआएका राजनीतिक दलहरूलाई कसरी मूलधारको राजनीतिमा ल्याउने भन्नेमा सरकारको ध्यान रहेको बताए ।
गृहमन्त्री खाणले बेमौसमी वर्षाका कारण आएको बाढी पहिरो तथा डुबानबाट भएको जनधनको क्षतिको उचित व्यवस्थापन गरिने समेत बताए ।





