कृष्ण दमाईँ यतिबेला राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा छन् । पशुपति कोटीहोममा आयोजकले उनलाई निम्ता गरेर व्यासासनमा बसाएपछि अनि व्यासासनबाट कृष्ण दमाईँले प्रवचन गरेपछि उनको चर्चा एकाएक चुलिएको हो । बैतडीको दुरदराजमा जन्मिएका कृष्ण दमाईले संस्कृत साहित्यमा आचार्य गरेका छन् । हाम्रो समाजमा संस्कृत भनेको कथित उपल्लो जातले मात्रै पढ्ने विद्या हो भन्ने सोच रहिरहेका बेला कृष्ण दमाईले त्यो भाष्यलाई विस्थापित गरिदिए । भनिने गरिएको दलित समुदायका कृष्ण दमाईँले संस्कृत साहित्यमा सामान्य अक्षारम्भ मात्र गरेनन् उनले संस्कृतमै आचार्य सम्मको अध्ययन गरे । बैतडीमा जन्मिएका कृष्ण दमाईको संस्कृत यात्राको संघर्ष जो कोहीका लागि प्रेरणादायी छ । उनका अनुसार ४ कक्षामा पढ्दा उनलाई जातीय विभेदको महसुस भएको थियो । बाल्यावस्थामा भएको विभेदको त्यो महसुसले संस्कृत साहित्यतर्फ उनलाई डो¥यायो । उनको मनमा यस्तो इख जगायो कि म संस्कृत पढ्छु र म पनि पुराण वाचन गर्छु ।
कृष्ण दमाईले उतिबेला संस्कृत पठनको यात्रामा लाग्नुको कारणबारे उल्लेख गरेपनि त्यतिबेला कस्तो प्रकारको विभेद र को बाट विभेद भन्ने कुरा खुलाएका छैनन् । नकारात्मक र उतिबेलाका ती दुखद कुरा गरेर समाजमा केही फाइदा नहुने उनको बुझाई छ । बैतडीमा जन्मिएका कृष्ण दमाईको प्रारम्भिक बाल्यावस्था वैतडीको दुर्गम गाउँ वकुन्नामा बितेपनि त्यसपछिका दिन कञ्चनपुरमा बिते । हाल संस्कृत साहित्यमा आचार्य गरेका दमाईले २०६४ सालमा कञ्चनपुरको वैजनाथ माध्यमिक विद्यालयबाट एसएलसी गरेका थिए । त्यसपछि कञ्चनपुरको शारदा विद्यापिठबाट संस्कृत विषयमा उत्तरमाध्यमिक र शास्त्री उतिर्ण गरेका दमाईले आचार्य दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयबाट गरे । संस्कृत साहित्य पढ्दै गर्दा उनलाई उनका आफन्त र चिनेजानेकाहरुले दमाईको छोराले संस्कृत पढेर के हुन्छ नभनेका होइनन् । तर, पढ्दै गएपछि संस्कृतको विराटता उनको मनमा यसरी गड्यो कि पढ्नैपर्ने विषय वास्तवमा यही रहेछ अरु यसैका हाँगाबिँगा रहेछन् भन्ने उनलाई लाग्यो । संस्कृतलाई कर्मकाण्डी भाषाका रुपमा मात्रै लिनु अज्ञानता भन्दै उनले आफूले पनि विद्धताका लागि यो विषय बढेको बताएका छन् ।
संस्कृत भाषा किन पढेँ भन्ने विषयमा कृष्ण दमाईले पशुपति कोटीहोममा दिएको प्रवचन अहिले निकै चर्चामा छ । सनातन धर्म संस्कृतिले जातिय विभेद नगरेको बताउँदै उनले सनातन धर्म संस्कृतिको जगेर्नामा सबै लाग्नुपर्ने बताएका छन् । संस्कृत शिक्षाको महत्वका विषयमा कृष्ण दमाईले पशुपति कोटीहोममा प्रवचन गरिरहँदा धेरैका आँखा खुसीले रसाएका थिए । पशुपति कोटीहोमको व्यासासनमा दुबोको माला र दोसल्लामा सजिएर बसिरहँदा धेरैका आँखा खुसील्े टिल्पिल टिल्पिल गरिहेका थिए भने उनका प्रचवनमा आनन्दित भएर धेरैले गडगडाहट ताली बजाएका थिए । हिन्दू धर्मले जातिय विभेद गरेको छ भनेर जसरी गलत भाष्य स्थापित गर्न खोजिएको छ त्यसलाई कृष्ण दमाईको प्रवचनले खण्डित गरेको छ भने पशुपति कोटीहोमको व्यासासनमा उनको बसाईले हजारौं वर्षदेखिको जातिय विभेदको पर्खाल व्यवहारिक रुपमा भत्किएको धेरैको बुझाई छ ।