Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

नेपाल मेडिसिटी अस्पतालद्वारा गुल्मीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


नेपाल मेडिसिटी अस्पतालको प्राविधिक सहयोगमा गुल्मीको अमरपुर इस्मा गाउँपालिका वडा नं. ६ स्थित स्वास्थ्य चौकीमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गत चैत्र २८ र २९ गते निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । हिमा गौतम स्मृति कोषको आयोजना तथा नेपाल मिर्गौला अस्पताल र मिर्गौला बचाउ अभियानको सहकार्यमा सञ्चालित उक्त स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएको बताइएको छ ।
शिविरमा नेपाल मेडिसिटी अस्पतालले सहभागी बिरामीहरुलाई निःशुल्क औषधि वितरण गरेको थियो ।
उक्त स्वास्थ्य शिविरमा नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषि काफ्ले र डा. प्रकाश पौडेल, हाडजोर्नी विशेषज्ञ डा. अमित पौडेल, पोषणविद् रुजु खड्का र स्त्रीरोग विशेषज्ञ प्रगती गौतमले बिरामीहरुको स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेका थिए ।
शिविरमा आएका बिरामीहरुको रक्तचाप र मधुमेह जस्ता आधारभूत स्वास्थ्य परीक्षणका लागि नेपाल मेडिसिटी अस्पतालका ल्याब टेक्निसियन अरुण गौतम र सिवानी पौडेल पनि उपस्थित थिए । बुटवलबाट समेत तीन जना चिकित्सकहरुको उक्त शिविरमा सहभागिता रहेको थियो ।
स्वास्थ्य शिविर संयोजक तथा नेपाल मेडिसिटी अस्पतालका मिर्गौला प्रत्यारोपण काउन्सिलर शंकर भट्टराईले उक्त शिविरमा गुल्मीको दुर्गम क्षेत्रबाट पिछडिएका वर्गका सेवाग्राहीहरुको उल्लेख्य सहभागिता रहेको जानकारी दिए । शिविरमा उपचारका लागि पुगेका अधिकांश बिरामीहरुमा मिर्गौला, स्त्रीरोग र हाडजोर्नी सम्बन्धी समस्या देखिएको उनको भनाई थियो ।


शिविरमा गरिएको परीक्षणमा धेरैजनामा उच्च रक्तचाप र मोटोपनाको समस्या पाइएको छ । यद्यपि उक्त क्षेत्रमा मधुमेहका बिरामी भने नभेटिएको उनले जानकारी दिए । शिविरमा परीक्षण गरिएका एक हजार जनामध्ये ११२ जनामा मिर्गौलामा समस्या, २०० जनामा हाडजोर्नीको समस्या र ३०० जनामा महिलाहरुको महिनावारी तथा पाठेघर सम्बन्धी समस्या पहिचान भएको बताइएको छ ।
स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण भेगका नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त शिविर नेपाल मेडिसिटी अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गतको एक महत्वपूर्ण कदम रहेको उल्लेख छ । शिविरमा पोषणविद् रुजु खड्काले स्थानीयलाई पोषणको महत्व र सन्तुलित आहार सम्बन्धी प्रशिक्षण प्रदान गरेकी थिइन् । जसबाट स्वास्थ्य जीवनशैली प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ ।
नेपाल मेडिसिटी अस्पतालले भविष्यमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरहरु आयोजना गरी दुर्गम क्षेत्रका नागरिकहरुको स्वास्थ्य सेवामा पहुँच बढाउन निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालले शिविरलाई सफल बनाउन सहयोग गर्ने हिमा गौतम स्मृति कोष, नेपाल मिर्गौला अस्पताल, मिर्गौला बचाउ अभियान, सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र स्थानीय समुदायलाई धन्यवाद समेत ज्ञापन शिविरका कोर्डिनेटर शंकर भट्टराईले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार