कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाका कारण अवरुद्ध बझाङको खोड्पे–चैनपुर सडक अझै सुरु हुन सकेको छैन । उक्त सडक कात्तिक ७ गतेदेखि अवरुद्ध छ । सडक विभागका अनुसार उक्त सडक पूर्ण रुपमा सुरु हुन महिना दिनभन्दा बढी लाग्ने छ । उक्त खण्डको जालीबगर र नारुगाड खण्डमा सडक पनि बगेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार जालीबगरमा सडक कटान गरेर नदी बगिरहेको छ ।
‘यो बझाङ सदरमुका जोड्ने सडक हो,’ महानिर्देशक थापाले भने, ‘त्यसैले जालीबगरमा स्थानीय सडक जोडिएको छ, त्यसलाई चौडा गरेर साना सवारी चलाउन सुरु गरिएको छ ।’ केही दिन भित्रमा साना गाडी सदरमुकामसम्म पुग्ने उनको भनाइ छ । ठूला सवारी चल्न भने समय लाग्ने छ । यस्तै, नारुगाड खण्ड भने पाँच दिनभित्रमा खुल्नेगरी काम भइरहेको महानिर्देशक थापा बताउँछन । मनाङ जोड्ने सडक पनि जसोतसो खुलाइएको उनले सुनाए । ‘बाजुरा जोड्ने सडक खुल्नेरबन्द हुने भइरहेको छ,’ थापाले भने, ‘त्यस्तै इलाम बजारको एक खण्ड सडक अझै बन्द छ ।’ त्यहाँ सडक खुल्न अझै एकरडेढ महिना लाग्ने छ । इलाममै स्थानीय सडक प्राय सबै ठप्प छन् ।
‘इलाम र पाँचथरमा मात्र अहिलेसम्म बाढी पहिरोले पुल र सडकमा २२ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान छ,’ थापाले भने, ‘त्यस्तै मेची राजमार्गको ठाउँ–ठाउँमा एकतर्फी मात्र सडक खुलेको छ ।’ पूरै सडकको पहिरो पन्छाउन एक हप्ता लाग्ने छ । ‘दर्जनौं ठाउँमा सडक तलबाटै चिरिएर गएको छ,’ थापाले भने, ‘यी सबै सडकलाई पहिलाकै अबस्थामा ल्याउन एक बर्ष बढी समय लाग्ने छ ।’ सबैतिरबाट क्षतिको विवरण आउने क्रम जारी रहेको उनले बताए ।
‘क्षति संकलन भइरहेको छ,’ उनले भने, ‘एकहप्ता भित्र देशभरबाट प्रारम्भिक क्षतिको विवरण आइ सक्ने छ ।’ बर्खा सुरु भएयता सडक र पुलमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । यो प्रारम्भिक क्षति अनुमान हो । सबैभन्दा बढी सडकमा क्षति भएको सडक विभागको आंकलन छ । मध्यपहाडी लोकमार्गको विभिन्न खण्डमा पहिरो खसेर सडक एकतर्फी मात्र सुचारु छ ।
कात्तिकमा परेको बेमौसमी वर्षाकाकारण मात्र १ अर्ब ५ करोड रुपैया बराबरको क्षति भएको छ । यसअघि बर्खाले २ अर्ब ३५ करोड रुपैयाँको क्षति भएको महानिर्देशक थापा बताउँछन् । ‘यसमा क्षति अझै थपिने छ,’ उनले भने ।





