राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङकलन गर्दै आजबाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरु पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना– २०७८ को प्रारम्भ गरिएको हो । तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङक लिएर राष्ट्रिय जनगणना– २०७८ को औपचारिक शुभारम्भ गरिएको बताए । उनका अनुसार राष्ट्रपतिलाई जनगणनाको तथ्याङ्कमा रहेका ८० वटा प्रश्न सोधिएको थियो ।
तथ्याङ्क विभागका अनुसार राष्ट्रपतिपछि आजै प्रधानमन्त्री निवास बालुवाटारमा तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । राष्ट्रिय जनगणनाजस्तो महान् अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने साङ्केतिकरूपमा सन्देश दिनका लागि तथ्याङ्क लिइएको उनले उल्लेख गरे ।
निर्देशक लामिछानेकाअनुसार विभागका महानिर्देशकले प्रधानमन्त्रीको पारिवारिक विवरण सङ्कलन गरेका थिए । राष्ट्रिय योजना आयोगका सचिवले जनगणनाबारे जानकारी गराउँदै यसको हरेक क्षेत्रमा पर्ने प्रभावबारे प्रधानमन्त्री देउवालाई अवगत गराएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङ्कलन गरेर आजदेखि देशभर १२ औँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भ भएको हो । राष्ट्रपतिपछि प्रधानमन्त्रीको जनगणना गरिएको छ । आजैबाट देशभर जनगणना सुरु गरिएको छ । राष्ट्रिय जनगणना अभियान कात्तिक २५ देखि सुरु भई मङ्सिर ९ गतेसम्म १५ दिनको कार्यक्रममा रहने र गणकहरूले हरेक नेपालीको घरदैलोमा पुगेर गणना गर्नेछन् ।
जनगणनामा कोही नछुटुन् भनेर विभागले प्रविधिको प्रयोग गरेको छ । विदेशमा कूटनीतिक नियोगमार्फत गणना गरिनेछ । दार्चुलाको लिम्पीयाधुरामा कूटनीतिक पहलबाट समन्वय गरेर वा वैकल्पिक विधिबाट भए पनि जनगणना गरिने विभागले जनाएको छ ।





