Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

संयुक्त विद्यार्थी संगठनद्वारा आयल निगमको केन्द्रीय कार्यालय घेराउ


पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गरेको छ। शुक्रबार बिहान १० बजेबाट नेपाल आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्दै ती विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाब दिएका हुन्।

विद्यार्थी संगठनका नेताहरुले आमजनता र विद्यार्थीलाई चुल्हो बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा मागेका छन्। उनीहरुले निगमका भ्रष्ट कर्मचारी र सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

सत्तारुढ नेकपा माओवादी केन्द्रमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)मा आवद्ध अनेरास्ववियुसहितका विद्यार्थी संगठनका नेताले आयल निगमका भ्रष्ट कर्मचारीलाई सामाजिक रुपमा बहिष्कार गर्न आह्वान गरेका छन्।

संयुक्त विद्यार्थी संगठनहरुले जनतालाई आहत हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई दबाब दिइरहेका छन्।

 


प्रतिक्रिया दिनुहोस !
विचार