नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने बन्दसत्र सौराहाको होटल सेभेन स्टारमा गरिने भएको छ । बाघमारा चौरमा हुने भनिएको बन्द सत्र सुरक्षाको अवस्थालाई मध्यनजर गरी स्थान परिवर्तन गरिएको मुल व्यवस्थापन समितिका सहसंयोजक तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।
बाघमारा चौरमा जंगली जनावरले आक्रमण गर्न सक्ने खतरा रहेकोले सुरक्षाको लागि स्थान परिर्वतन गरिएको उनले बताए । सोही होटलमा बन्दसत्रको सम्पूर्ण कार्यक्रम सञ्चालन हुने मुल व्यवस्थापन समितिले जनाएको छ ।
एमालेको १०औँ राष्ट्रिय महाधिबेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । महाधिबेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा हुने छ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुने छ । बन्द सत्रमा भोटिङका लागि १०० विद्युतीय उपकरण प्रयोग गरिने एमालेले जनाएको छ ।
यसैबीच, मुल व्यवस्थापन समितिले शुक्रबार सौराहाका व्यवसायीहरुसँग छलफल गरेको छ । व्यवसायीहरुसँग आवास र खाद्य व्यवस्थापनको विषयमा छलफल गरिएको हो । सौराहामा रहेका १५० वटा होटलहरुमा एक हजार ४५० वटा रुम बुकिङ गर्ने तयारी गरिएको छ ।





