Logo
२ श्रावण २०८३, शनिबार
|  Sat Jul 18 2026

देशैभर एकै साथ महाधिवेशन प्रतिनिधि चयन गर्दै एमाले


नेकपा एमालेले आगामी दशौं राष्ट्रिय महाधिवेशनका लागि आज देशैभरबाट एकै साथ प्रतिनिधि चयन गर्दैछ। १ हजार ९९९ प्रतिनिधिको छनोट आज एकै पटक हुन लागेको हो। संगठित सदस्यताका आधारमा एमालेले प्रतिनिधि छनोट गर्नेछ। पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० गते चितवनमा हुँदैछ।

यसअघि कतिपय ठाउँमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट गरिसकिएको छ भने बाँकी रहेका ठाउँमा आज पनि सर्वसम्मत रुपमै प्रतिनिधि छनोट गरिने बताइएको छ। एमालेसँग हाल देशभर ८ लाख १० हजार संगठित सदस्य छन्। त्यसमध्येबाट प्रतिनिधि छनोट गरिनेछ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिमा पहिलो १२ सय संगठित सदस्यबाट १ महिला र २ खुलासहित ३ जनाप्रतिनिधि चयन गर्ने व्यवस्था गरिएको छ। यो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६ सयसम्म सदस्य भए थप २ जना, २४ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जनाप्रतिनिधि चयन हुनेछन्। ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तीमा १ जना महिला अनिवार्य हुनु पर्नेछ।

यस्तै, देशभित्रका जिल्ला र विशेष जिल्लाअन्तर्गतका ५ सयसम्म दलित पार्टी सदस्यमध्येबाट निर्वाचित हुने १ जनाप्रतिनिधि, यस संख्यामा ५ सयसम्म सदस्य थप भएमा थप १ जना, १ हजारसम्म सदस्य थप भएमा थप २ जना, १५ सयसम्म सदस्य थप भएमा कम्तीमा १ महिलासहित ३ जना निर्वाचित हुने मापदण्ड बनाइएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार