Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

पत्रकार केसीमाथि खुकुरी प्रहार गर्नेलाई पक्राउ गर्ने प्रहरीको प्रतिवद्धता


अनलाइन टीभी पत्रकार संघका उपाध्यक्ष कुशलव केसीलाई खुकुरी प्रहार गर्नेहरुलाई पक्राउ गर्ने प्रतिवद्धता प्रहरीले व्यक्त गरेको छ । दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै भक्तपुरमा आइतबार आयोजना गरिएको विरोध प्रदर्शनपछि प्रहरीले यस्तो प्रतिवद्धता जनाएको हो ।
घटना भएको १८ दिनसम्म पनि प्रहरीले दोषीलाई पक्राउ नगरेको भन्दै अनलाइन टीभी पत्रकार संघको नेतृत्वमा आइतबार ठिमी प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय भक्तपुरमा बृहत विरोध प्रदर्शन भएको थियो । ठिमी प्रहरी कार्यालयका प्रमुख डिएसपी नरहरि रेग्मी सहितले तीन दिन भित्रमा दोषीलाई पक्राउ गर्ने प्रतिवद्धता जनाएको घाइते पत्रकार केसीले जानकारी दिए ।
यही कात्तिक ११ गते बिहीबार विहान भक्तपुरको बालकोटमा समाचार संकलनका क्रममा पत्रकार केसी माथी खुकुरी प्रहार भएको थियो । खुकुरी लागेर पत्रकार केसीसहित अरु तीन जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार गरिएको थियो ।
घाइतेहरुले घटना भएकै दिन ठिमी प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले आलटाल गरेपछि भोलीपल्ट शुक्रबार मात्रै उजुरी दर्ता भएको थियो । स्थानीय विष्णु कार्कीलगायतको संलग्नतामा खुकुरी प्रहार भएको भिडियो सहितको जाहेरी दर्ता गरिएको घाइते पत्रकार केसीले जानकारी दिए ।
करोडौको लेनदेनको विषयमा दुई पक्षका बीचमा विवाद भएको समाचार संकलन गर्ने क्रममा पत्रकार केसीमाथी खुकुरी प्रहार भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार