Logo
२० श्रावण २०८३, बुधबार
|  Wed Aug 5 2026

ग्यासको आपूर्ति सहज बनाउन संसदीय समितिको सरकारलाई निर्देशन


काठमाडौँ। राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा खाना पकाउने ग्याँस तत्काल सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले देशभर गुणस्तरीय बस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाइ कृत्रिम अभाव एवं कालो बजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति जयन्तीदेवी राईले जानकारी गराए ।

समितिले दैनिक उपभोग्य बस्तु तथा सेवाहरूको अस्वाभाविक मूल्य वृद्धिको नियन्त्रण, सर्वसाधारणको सहज पहुँच हुनेगरी सुपथ मूल्य पसलहरूको नियमित सञ्चालन र क्षेत्रगत दायरा विस्तार गर्न तथा सबै बजारका पसलहरूमा मूल्य सूची अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

तहगत सरकार र अन्तर मन्त्रालयबीच समन्वय र सहकार्य गर्दै नियमित बजार अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्न, बजार अनुगमनमा स्थानीय तहलाई जिम्मेवार बनाउन र तीनै तहको सरकारबीच समन्वय गरेर अगाडी बढ्न समितिले सरकारलाई निर्देशन गरेको छ ।

यस्तै उपभोग्य बस्तुको ल्याब परीक्षण गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिँदै उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन पनि समितिले निर्देशन दिएको छ ।समितिमा आज भएको छलफलमा सांसदहरुले बजार अनुगमन प्रभावकारी हुन नसक्दा बजारमा मंहगी, कालो बजारी र कृत्रिम अभाव सिर्जना भएको भन्दै बजार अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

सांसदहरुले देशभर देखिएको खाना पकाउने ग्याँसको समस्या तत्काल समाधान गर्नुपर्ने र ग्यास विक्रेता, डिपोहरूलाई जिम्मेवार बनाउनु पर्नेमा जोड दिउ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले मध्यपूर्वमा सिर्जित अशान्तिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर र यसले खाना पकाउने ग्याँस र सबै पेट्रोलियम पदार्थमा अधिक मूल्य वृद्धि भई आपूर्ति शृङ्खला असन्तुलित हुने अवस्था देखिएको बताए।

मूल्य नबढाउँदा नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आपूर्ति गर्न नसक्ने तथा बढाउँदा सबै क्षेत्रमा असर पर्ने भएकाले पेट्रोलियम पदार्थको न्युन उपयोग तथा विद्युतीय उपभोगको प्रयोगमा विस्तार एवं सबै विकल्पहरूको प्रयोगका लागि उपयुक्त निर्णय लिनुपर्ने अवस्था रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपाल आयल निगम निगमका निमित्त कार्यकारी निर्देशक दिपक बरालले आधा सिलिन्डर ग्याँस वितरण भइरहेको समयमा भरी सिलिन्डर बेच्न शुरु गर्ने बित्तिकै केही समस्या देखिएको भएपनि दैनिक ७० देखि ८० ट्याङ्कर ग्याँस लोड हुँदै आएकामा अहिले १ सय १० देखि १ सय १५ ट्याङ्कर लोड भइरहेकाले अबको केही दिनभित्रबाट समस्या समाधान हुँदै जाने बताए।


प्रतिक्रिया दिनुहोस !
विचार