आज साँझ अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुँदै छ। दुई मुलुकबीच विभिन्न विवाद जारी रहेको अवस्थामा उनीहरुबीच भर्चुअल माध्यमबाट संवाद हुन लागेको हो। यी दुई मुलुकले यसअघि स्कटल्याण्डको ग्लासगोमा संयुक्त जलवायु घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई आश्चर्यमा पारेका थिए। यद्यपि पछिल्लो समय ताइवानजस्ता विषयमा तनाव बढ्दो छ।
सोमबार हुने बैठकमा साइबर सुरक्षा, व्यापार र परमाणु हतियारजस्ता विषयमा चर्चा हुन सक्ने अमेरिकी सञ्चारमाध्यमहरुले बताएका छन्। शुक्रबार जारी गरिएको विज्ञप्तिमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भनेको छ, ‘दुवै नेता अमेरिका र चीनबीच जारी प्रतिस्पर्धालाई जिम्मेवारीका साथ सन्तुलनमा राख्ने तरिकाबारे छलफल गर्नेछन्। साथै आपसी हितको लागि मिलेर एकसाथ काम गर्ने विषयमा पनि छलफल हुनेछ।
गत जनवरीमा जो बाइडेनले पदभार ग्रहण गरेपछि सि र बाइडेनबीन दुईपटक वार्ता भएको छ। यद्यपि दुवै नेताले दुई मुलुकबीच केही विवाद कायम रहेको बताउँदै आएका छन्। गत साता चिनियाँ राष्ट्रपति सीले दुवै मुलुकको सम्बन्ध राम्रो बनाउन आफू तयार रहेको बताएका थिए।
बाइडेनलाई यो वार्ताबारे ठूलो अपेक्षा छैन। यद्यपि यी दुई नेताहरुको बैठकले राजनीतिक हिसाबमा भने ठूलो महत्व राख्न सक्छ।यो बैठकमा ताइवानको मुद्दा प्रमुख हुन सक्ने सम्भावना छ। बाइडेनले सीलाई ताइवान मुद्दामा शान्तिको लागि आग्रह गर्न सक्छन्। यद्यपि बाइडेनले पनि ताइवानको सार्वभौमसत्ताको मुद्दा नउठाउने वाचा गर्नुपर्ने हुन्छ।
चीनको लागि पनि ताइवानको मुद्दा महत्वपूर्ण हुन सक्छ। अमेरिकाले एक चीन नीतिलाई स्वीकार गरेपनि ताइवानसँगको सम्बन्धलाई भने कायम राखेको छ।





