Logo
२९ भाद्र २०८३, सोमबार
|  Mon Sep 14 2026

ट्याङ्करबाट तेल निकाल्दै गर्दा पक्राउ परे पेट्रोल पम्प सञ्चालकसहित सात जना


वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित आईसीपीबाट जाँचपास गरी नेपाल भित्रिएको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनाधिकृत रूपमा तेल चोरी गरी बिक्री–वितरण गर्ने कार्यमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साकाअनुसार बिहीबार साँझ बाइपास सडकस्थित सौदागर आयल सेन्टरमा ना.७ ख १५३९ नम्बरको ट्याङ्करमा जडान गरिएको सिल फलामको पाइपको हुक प्रयोग गरी उचालेर अनाधिकृत रूपमा तेल निकालिरहेको बेला उनीहरूलाई रंगेहात फेला पारिएको हो ।

पक्राउ पर्नेमा पेट्रोल पम्प सञ्चालक ५५ वर्षीय सुनैन मियाँ, पम्पमा लेखा हेर्ने २३ वर्षीय असलम हवारी, क्यासियर २१ वर्षीय रफिक मियाँ, ना.७ ख २८०४ नम्बरको ट्याङ्करका चालक ४६ वर्षीय केशर राम सुनार र सहचालक २० वर्षीय सन्देश राना मगर, साथै ना.७ ख १५३९ नम्बरको ट्याङ्करका चालक ५० वर्षीय मन्द सिंह लामा र सहचालक २७ वर्षीय उमेश राना मगर रहेका छन्।

प्रहरीले घटनामा प्रयोग भएका ट्याङ्करसमेत नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार