नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको निवासमै पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै केन्द्रीय कार्य समितिको बैठक सभापति देउवाको निवासमा बोलाएकोमा चर्को असन्तुष्टि व्यक्त गरेका हुन्।
नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले सोमबार आयोजना गरेको एक कार्यक्रममा नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै देउवाले केन्द्रीय कार्य समितिको बैठक आफ्नो घरमा राखेको भन्दै विरोध जनाएका हुन् । ‘केन्द्रीय कार्य समितिको बैठक सभापतिको निवासमा राख्छन् । हिजो मैले बोलेँ । कार्यालयमा राख्नु पर्योे नि वर्किङ कमिटी भनेर । भवनको के काम,’ उनले भने, ‘बूढानीलकण्ठ हामीले नदेखेको हो र भन्या । उहाँको घर बन्नुभन्दा अघि नै हामी बूढानीलकण्ठ भगवानको पूजा गर्न जान्थ्यौँ नि ।’
त्यसैगरी नेता सिंहले देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरू मान्य नहुने चेतावनी समेत दिएका छन् ।





