नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा लुटेरा प्रवृत्ति बढ्दै गएको बताएका छन्। अखिल नेपाल किसान महासंघको राष्ट्रिय समिति घोषण सभामा नेपालले कृषि क्षेत्रमा मात्रै नभइ राजनीतिमा पनि लुटेरा प्रवृत्ति हुर्किरहेको बताएका हुन्।
‘लुटेरा प्रवृत्तिहरु हुर्केर गइरहेको पाइन्छ। नोकरशाहहरुले गरिब किसानको विजोग बनाइरहेको छ,’ नेपालले भने। उनले कार्यकर्तालाई किसानका बारेमा सोच्न निर्देशन दिए। एमाले टुक्राउँदा साथ नदिएका नेताहरुसँग आँट नभएको उनको टिप्पणी थियो। आफूलाई धोका दिएका नेताहरु अहिले एमालेमा रोएर बसिरहेको उनले बताए।
‘जहाँ ढोका बन्द गरेको हुन्छ। प्रवेश नै नदिएपछि कि ढोका तोडिन्छ कि नयाँ बनाइन्छ। आँट नभएकाहरु ढोकाबाहिर रोइकराइ गरेर बसिरहेका हुन्छन्। आँट भएकाहरु नयाँ संगठन बनाएर अघि बढछन्,’नेपालले भने। नेकपा एमालेका उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल लगायताका नेताहरुले पार्टी विभाजनका बेला संस्थापन पक्षलाई रोजेका थिए।
१० बुँदे सहमतिका आधारमा एमालेमा क्रियाशिल रहेका रावल, भुसाल लगायतका नेताहरु अहिले पनि अध्यक्ष केपी शर्मा ओलीले सहमति कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि छन्। उक्त असन्तुष्टिलाई लक्षित गर्दै नेपालले १० बुँदेका आधारमा एमालेमा फर्किएका नेताहरुलाई ‘आँट नभएको ‘ टिप्पणी गरेका हुन्।





