म्याग्दी । बाढी, पहिरोका कारण म्याग्दी जिल्लामा सञ्चालित जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । यस्तै, २० मेगावाट क्षमताका दुई आयोजना बन्द भएका छन् ।
सडकमार्गको असहजताका कारण निर्माण सामग्री, उपकरण र इन्धन ढुवानी नहुँदा धवलागिरि गाउँपालिकामा निर्माणाधीन चार वटा जलविद्युत् आयोजना प्रभावित भएका हुन् ।
कुल ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–एक, ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी, ६५ मेगावाटको म्याग्दीखोला, १४ मेगावाटको मुदीखोला र छ दशमलव पाँच मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजना निर्माण कार्य प्रभावित भएको छ ।
यसैगरी, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नौ दशमलव १४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजना निर्माण स्थल पनि यातायात सम्पर्कविच्छेद भएको छ । नारच्याङको रेलेखर्क क्षेत्रबाट आएको बाढी बाँधमा थुप्रिँदा छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना गत असार अन्तिम सातादेखि बन्द भएको छ ।
गत साउन २६ गते सुक्खा पहिरोले विद्युत्गृह पुरिएपछि अन्नपूर्ण गाउँपालिका–६ मा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन ठप्प भएको छ । उक्त पहिरोमा पुरिएर एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले घुमाउने (फापरखेत), बाङ्गेपहिरो, इल्पुमा पहिरो र शिवरात्रि खोलामा बाढी आएपछि गत असार महिनादेखि सिमेन्ट, रडजस्ता निर्माण सामग्रीका साथै उपकरण बोकेका गाडीहरू आयोजना निर्माणस्थलमा पुग्न नसकेका बताए ।
शिवरात्रिखोलामा पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित मोटरेबल पुल निर्माण योजनामा ढिलाइ हुँदा बर्खायाममा सवारीसाधन वारपार गर्न समस्या भएको छ ।
खोलामा बाढीको सतह बढ्ने, पहुँचमार्गमा पहिरो खस्ने समस्याले निर्माण कार्यमा असर परेको म्याग्दीखोला जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत बुद्धिराज अधिकारीले जानकारी दिए ।
६० प्रतिशत भौतिक प्रगति भएको ३७ मेगावाटबाट क्षमता बढाएर ४६ दशमलव २५ मेगावाट बनाउने प्रक्रियामा रहेको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाले पनि बाढी पहिरोका कारण निर्माण कार्यमा असर परेको जनाएको छ ।
बेनी–दरबाङका साथै दरबाङ–धारापानी–ताकम–मुना सडकमा पर्ने थापाचौर, गौथली, दाचौर भिरको पहिरोका कारण निर्माण सामग्री ढुवानी गर्न नपाएको दरखोला हाइड्रोपावरका अध्यक्ष रेशम भण्डारीले बताए ।





