नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू कममात्र चल्दा काम विशेषले आज बिहानै गन्तव्यमा जान चाहनेहरुले सास्ती पाएका छन् । मूल्यवृद्धिको विरोधमा गरिएको बन्दलाई अतिरन्जित नगर्न सो पार्टीले आग्रह गरेको छ ।
लामो यात्रा गरेर बिहानै काठमाडौं उपत्यकामा भित्रिएका यात्रुहरू सार्वजनिक गाडी नपाउँदा अलपत्र परेका छन् । कलंकी, नयाँबसपार्क, कोटेश्वर, बल्खु, बालाजुलगायतका स्थानमा यात्रुहरू गाडी कुरिरहेका देखिन्छन् । उपत्यकाबाट लामो गन्तव्यका लागि छुट्ने कुनै पनि सबारी साधन नचलेको नागढुंगा प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यकाभित्र निजी कार र मोटरसाइकलहरू भने चलिरहेका छन् । तर ती पनि अघिल्ला दिनको तुलनामा निकै कमैमात्र चलेका छन् । काठमाडौं उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ ।
बन्दको क्रममा कुनै अप्रिय घटना नभएको काठमाडौं प्रहरीले जानकारी दिए । महाराजगञ्जबाट तीन जना र साँखुबाट दुई जना गरी पाँच जना बन्दकर्ता पक्राउ परेका छन् ।





