चम्पादेवी गाउँपालिका–७, फूलबारी वडा कार्यालयले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका वडावासीलाई लक्षित गरी तीनदिने सेवा शिविर सञ्चालन गर्ने भएको छ।
वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, व्यक्तिगत घटना दर्ता, भूमिकर/मालपोतलगायत वडा कार्यालयबाट प्रवाह हुने विभिन्न सेवा काठमाडौंमै उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गर्न लागेको हो।
शिविर २०८३ साल भदौ २६ गतेदेखि २८ गतेसम्म काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित ह्याण्डबल ग्राउण्ड नजिकैको ‘चिया मञ्च’मा सञ्चालन हुनेछ । पहिलो दिन बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म र अन्य दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गरिने सूचनामा उल्लेख छ ।
विशेषगरी काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका वडावासीलाई गाउँसम्म पुगेर सेवा लिनुपर्ने बाध्यता हटाउने उद्देश्यले शिविर आयोजना गरिएको वडा कार्यालयले जनाएको छ । चम्पादेवी गाउँपालिकाले सामाजिक सुरक्षा तथा अन्य स्थानीय सेवाका विवरणहरू आफ्नै आधिकारिक माध्यमबाट समेत सार्वजनिक गर्दै आएको छ ।
वडा कार्यालयले व्यक्तिगत रूपमा उपस्थित हुन नसक्ने दलित बालबालिका, पूर्ण अपाङ्गता भएका नागरिक तथा ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको हकमा संरक्षकमार्फत निवेदन दिन सकिने जनाएको छ।
शिविरबाट सेवा लिन चाहने वडावासीलाई तोकिएको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित हुन वडा कार्यालयले अनुरोध गरेको छ।






