मंगलबार बिहान ललितपुरको इटिचोकस्थित महायान पेट्रोल पम्प नजिकै बन्दकर्ताले बा ५ख ८७५५ नम्बरको बस तोडफोड गरेका हुन् । बन्दमा बस चलाएको भन्दै बन्दकर्ताले ढुंगामुढा गर्दा साझा बसमा सामान्य क्षति पुगेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
प्रहरीले बिहान जबरजस्ती बन्द गराउँदै हिँड्ने २१ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ भने थप १ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, मौलाउँदो भ्रष्टाचारलगायतका विरोधमा विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको हो ।
सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी सडकमा निर्बाध गुडिरहेका छन् । सडकमा बिस्तारै सवारीको चाप बढ्दै गइरहेको छ । चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने देशका विभिन्न स्थानबाट बन्दकर्ता पक्राउ परेका छन् ।








