इजलासमा बहस पैरवी नगर्ने भन्दै नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका बेला स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानका अधिवक्ताहरुले भने विज्ञप्ति नै गरी जारी निःशुल्क रुपमा पीडितहरुका मुद्दा हेरिदिने घोषणा गरेका छन् ।
अभियानका तर्फबाट मंगलबार जारी गरिएको विज्ञप्तीमा बारको नेतृत्वले बहस पैरवीबाट नभई सेटिङ्ग र विचौलिया मार्फत मुद्दा छिन्नुपर्ने माग गरेको आरोप लगाइएको छ ।
अभियानले बारको आन्दोलनका कारण पीडितहरु झन् पीडामा परेको उल्लेख गर्दै पीडितहरुको गुनासोका आधारमा आफूहरुले निःशुल्क रुपमा जनताको सेवा गर्ने बताएको छ । पीडितहरुलाई आफूहरुसँग सम्पर्क गर्नका लागि सम्पर्क नम्बर समेत उपलब्ध गराउँदै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले आफूहरु सँधै जनताको साथमा रहेको दाबी समेत गरेको छ ।
अभियानका तर्फबाट जारी गरिएको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ ः सर्वोच्च अदालतमा निःशुल्क बहस पैरवीमा सहयोगबारे
सम्मानित सर्वोच्च अदालतमा जनताका मुद्दा बहस पैरवीबाट नभई सेटिङ्ग र बिचौलियामार्फत टुङ्ग्याउनुपर्छ भनी केही वरिष्ठ अधिवक्ता र बार नेतृत्व नामका कानुन व्यवसायीहरुले बहस पैरवीमा आफूहरु उपस्थित नहुने भन्दै आएकोमा बहस पैरवी मार्फत न्याय प्राप्त गर्नुपर्छ भन्ने मुद्दाका पीडित पक्षहरुलाई स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानका वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुले निःशुल्क रुपमा मुद्दाको बहस पैरवी गरिदिने भएकोले आवश्यक मुद्दाका पीडित पक्षहरुमा जानकारीका लागि यो सूचना सार्वजनिक गरिएको छ ।
बन्दीप्रत्यक्षीकरणका मुद्दामा समेत अहिलेसम्म नभएको आपराधिक अभ्यास गर्दै सेटिङ्ग र बिचौलियामार्फत मुद्दा छिन्ने तर बहस पैरवी गर्न नहुने माग गर्दै आन्दोलन शब्दकै दुरुपयोग गरी बन्दीका पक्षलाई नै दवाव दिएर मुद्दाको पेशी सार्न बाध्य बनाई बहस पैरवी नगरिदिएका कारण पारिवारिक सदस्यहरु पीडामा परी धेरै गुनासाहरु आएको, हरेक दिन बिहानै न्यायाधीसहरुबाट सोझै कानुन व्यवसायीको र पक्षको निवेदनमा भनी बन्दीका पेशी समेत निवेदकका तर्फबाटै स्थगित गरिएको लगायत पीडाहरु प्राप्त भएकोले स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले जनताको मुद्दा रोकिनु हुन्न भनेर निःशुल्क कानुनी बहस पैरवीमा सहयोग गर्ने निर्णय लिएको पनि जानकारी गराउँछौं ।
निःशुल्क कानुनी बहस पैरवीको सेवा प्राप्त गर्नका लागि निम्न नम्बरमा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।
९८५१०९२७९८, ९८५१०१७७१०, ९८४१५३२४७४, ९८५११३०१३८, ९८५१०३२५७७, ९८०११०८८१९, ९८४१२७७१३१, ९८१५९९५७०६, ९८०३८९३४३४, ९८६१३४४९८८, ९८५१०५०५६०, ९८४२६३४८४३
संयोजक
स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियान





