काठमाडौंमा चिसो सुरु हुन थालेसँगै वायु प्रदूषण पनि बढ्न थालेको छ। हाल वायु प्रदूषण कारण भारतको राजधानी दिल्लीका अधिकांश विद्यालय बन्द गरिएका छन् । अवस्था बढ्दै गएर केही दिन त्यहाँ लकडाउन हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । दिल्लीमा भइरहेको प्रदूषणको असर नेपालमा पर्छ ?
“अहिलेसम्म त्यसको प्रभाव नेपालमा परेको छैन । तर, वायुको बहाव कुन दिशातर्फ छ त्यसले निर्धारण गर्छ,” मौसमविद् मञ्जु बासी भन्छिन्, “यदि राजस्थान हुँदै नेपालतर्फ वायुको दिशा मोडियो भने त्यो प्रदूषित वायु नेपाल पनि आइपुग्न सक्छ ।” तर, वायुको दिशा नेपालतर्फ नमोडिए दिल्लीको प्रदूषण नेपाल आइपुग्ने छैन ।
यसैबीच, आज दिउँसो प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी तथा कर्णाली प्रदेशका भू–भागहरू आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । काठमाडौंमा आज विहान ६ बजे ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । दिउँसो यो तापक्रम बढेर २८ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ ।





