Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

चियापानको नाममा चुनाव प्रचार प्रसार, सत्ता गठबन्धन र एमाले–राप्रपाको चौतर्फी आलोचना


सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनले निर्वाचन आचारसंहिता लत्याउँदै कोशी प्रदेशमा चुनाव प्रचार र भेला गरेको भन्दै चौतर्फी आलोचना भएको छ । चुनाव नजिकिरहँदा मौन अवधिको समयमा नै सत्ता गठबन्धन र एमाले–राप्रपाले चुनाव प्रचार र भेला गरेको भन्दै आलोचना भएको हो ।

माघ ११ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ। माघ ८ गते राति १२ बजेदेखि लागु हुने गरी मौन अवधि लागु भैसकेको छ ।

निर्वाचन आयोगले सोमबार विज्ञप्ती जारी गर्दै मौन अवधि सुरु भएकाले कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर नगर्न वा नगराउन अनुरोध गरेको थियो । सो नियमलाई लत्याउँदै सत्ता गठबन्धनले विराटनगरस्थित कोइराला निवासमा बुधबार बिहान चियापानको बहानामा राष्ट्रिय सभा उम्मेदवार र मतदाता भेला गरेको आरोप लागेको हो ।

सत्ता गठबन्धनको विपक्षमा अर्को मोर्चा बनाएका एमाले र राप्रपाले पनि विराटनगरस्थित होटल ह्यारिसनमा चुनाव लक्षित भेला गरेका छन्। एमालेका नेतासमेत रहेका उद्योगी मोती दुगडको होटल ह्यारिसनमा एमाले महासचिव शंकर पोखरेल र राप्रपा नेताहरूसहित उम्मेदवार र मतदाता भेला भएका थिए। त्यस्तै सत्ता गठबन्धनका उम्मेदवार र मतदाता कांग्रेस नेता शेखर कोइरालाले आयोजना गरेको चियापानमा सहभागी भएका छन्।

बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनको प्रचारप्रसार अवधि सकिएपछि पनि दुवै पक्षले यस्तो गतिविधि जारी राखेका हुन्। कोइरालाले राखेको चियापानमा महामन्त्री गगन थापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, रामहरि खतिवडा, मीनबहादुर विश्वकर्मा, माओवादी नेताहरू पनि उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस !
विचार