Logo
६ मंसिर २०८३, आईतवार
|  Sun Nov 22 2026

एसिया कप राइजिङ स्टार्समा नेपालले पहिलो जित,युएई ६ विकेटले पराजित


काठमाडौं । एसीसी एसिया कप राइजिङ स्टार्समा नेपालले सहज जित निकालेको छ । आइतबार दिउँसो सम्पन्न खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।

जितको लागि १ सय २२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा ४ विकेटको क्षतिमा १ सय २३ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको लागि कुशल भुर्तेलले अर्धसतक बनाए । उनले ५६ बल खेल्दै ६ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए । यस्तै मयन यादवले २८ बलमा ४ चौका र एक छक्काको मद्दतमा २७ रन बनाउँदा बासिर अहमदले नटआउट २७, पवन सरार्फले नटआउट ९ र अर्जुन कुमालले ५ रन बनाए ।

युएईको लागि मुहम्मद मोहसिनले दुई र उद्दिश सुरीले एक विकेट लिए ।यसअघि दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एण्ड टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको युएईले ३९.५ ओभरमा अलआउट हुँदै १ सय २१ रन बनाएको थियो । युएईको लागि मुहम्मद शहदादले ४० रन बनाए । उनले ७० बलमा ५ चौका प्रहार गरे । यस्तै हप्रित सिंहले ३२ र नोरुल्लाह अयोबीले १२ रन बनाए ।

युएईलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले १० ओभरमा ३ मेडन राख्दै ११ रन दिएर ३ विकेट लिए । यस्तै कुशल भुर्तेलले ५ ओभरमा २ मेडन राख्दै १५ रन दिएर तीन विकेट लिँदा नन्दन यादव, रशिद खान र ललित राजवंशीले समान एक/एक विकेट लिए ।

जितसँगै नेपाल २ खेलबाट २ अंक जोड्दै समूह ‘बी’को तेस्रो स्थानमा रहेको छ । समान खेलबाट अंकविहीन युएई पुछारमा रहेको छ । अब नेपालले तेस्रो मंगलबार पाकिस्तान ‘ए’सँग खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस !
विचार