१० बुँदे सहमतिपछि एमालेको विवाद टुंगियो अब हामी एक भयौं भनेर केपी ओली पक्षतिर लागेका एमालेका केही नेताहरु यतिबेला रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । ती मध्येका एक हुन् एमाले उपाध्यक्ष भीम रावल । लामो समय माधवकुमार नेपालको दाहिने हात भएर काम गरेका नेता रावल मिडियासँग हत्तपत्त तर्किन खोज्ने नेता होइनन् ।
मिडिया पर देखेपछि टक्क अडिएर प्रतिकृया जनाइहाल्न तम्सिने नेता हुन् । तर, केहीदिनयता उनको मुड खराब भएको छ । कारण सुदुरपश्चिम प्रदेशको इञ्चार्जमा उनको नाम होइन लेखराज भट्टको नाम छ अहिले । माओवादी छाडेर एमालेमा आएका भट्टले एमालेको सुदुरपश्चिम प्रदेशको इञ्चार्ज पद पड्काएका छन् । तात्कालिन अवस्थामा नेकपा एमाले र माआवादी केन्द्र एकहुनुअघि सुदूरपश्चिम प्रदेशको इञ्चार्ज उपाध्यक्ष भीम रावल थिए । तर, भीम रावल एमालेको विवाद उत्कर्षमा पुगेका बेला माधव नेपालतिर लागेर ओलीको व्यापक आलोचनामा उत्रिएपछि ओलीले लेखराज भट्टलाई इञ्चार्ज बनाइदिए ।
१० बुँदे सहमतिसँगै त्यो इञ्चार्जको पद आफैसँग आउँने रावलको ठम्याई थियो । ओलीले १० बुँदे सहमति अनुसार सबै नेताको जिम्मेवारी २०७५ जेठ २ पूर्वको अवस्थामा फर्काउँछन् भन्ने बुझाई थियो । तर, त्यस्तो भएन । माधव नेपाल समुह त्यागेर आफूतिर आएका कोही पनि नेता कार्यकर्ताप्रति कुनै प्रकारको आग्रह पूर्वाग्रह राखिन्न भनेर सार्वजनिक कार्यक्रमममा अध्यक्ष केपी ओलीले बारम्बार भनेपनि एमालेमा त्यस्तो भएको छैन । जसको ज्वलन्त उदाहरण भीम रावल स्वयं हुन् । २०७५ जेठ २ सम्म एमालेका सदुरपश्चिम इञ्चार्ज रहेका रावल अहिले १० बुँदे सहमतिपछि पनि इञ्चार्ज छैनन् । इञ्चार्जको जिम्मेवारी लेखराज भट्टसँग छ । एमाले अध्यक्ष ओलीले आइतबार बिहान त प्रष्टैसँग भनिदिए सुदुरपश्चिम प्रदेशको इञ्चार्जको लेखराज भट्ट हो । ओलीको यो भनाइले रन्थनिएका रावल आइतबारको संसद बैठकपछि सञ्चारकर्मी बोल्न चाहनेनन् । संसद बैठकपछि मिडिया रावलको प्रतिक्षा गरेर बसिरहेका थिए । मिडियालाई सोध्नु थियो : १० बुँदे सहमतिपछि एमालेको विवाद सकियो भन्नुहुन्थ्यो, एमाले २०७५ जेठ २ कै अबस्थामा फर्कियो भन्नुहुन्थ्यो ? तर, खोई त तपाईँको सुदूरपश्चिमको इञ्चार्ज पद ? केपी ओलीले भने अनुसार त्यो पदमा त लेखराज भट्ट नै छन् रे नि त । सायद मिडियाको सम्भावित यही प्रश्नको जवाफ के दिने भन्ने तनवाले होला उनी मिडियाका सामु पर्दै परेनन् ।
अध्यक्ष ओलीले लेखराज भट्टलाई काखी च्यापेको भन्दै भीम रावल अहिले फेरि ओलीसँग चिढिएका छन् । रावलले ओलीको त्यो बोलीपछि सुदुरपश्चिम प्रदेशका नेताहरुसँग अब के गर्ने भनेर छलफल अघि बढाएको बुझिएको छ । रावल निकट नेताहरु सुदुरपश्चिमका अध्यक्ष कर्णबहादुर थापाका कारण मिलिसकेको एमाले विवाद फेरि बल्झाउने षड्यन्त्र शुरु भएको बताउँन थालेका छन् । थापाले ओलीलाई उचालेको र भीम रावललाई उतिबेला माधव नेपालतिर लागेको रिस पोख्न खोजेको अरोाप लगाउँन थालेका छन् ।
माधव नेपालको साथ छाडेपछि भीम रावल मात्रै संकटमा छैनन् अहिले सुदूरपश्चिम प्रदेश नै एमालेका लागि संकटको प्रदेश बनेको छ । एमाले भन्दा सुदूरपश्चिममा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल ठूलो छ । एमाले छाडेर सुदुरपश्चिमका बहुमत एमाले सांसदहरु माधव नेपाल नेतृत्वको पार्टीमा लागेका छन् । भीम रावलको गृहजिल्लाका प्रदेश सांसदले पनि एमाले र भीम रावलको साथ छाडेका छन् । भीम रावलको बेइमानीका कारण साथ छाड्नपरेको उनीहरुको तर्क छ । एमालेको विवाद उत्कर्षमा पुगेका बेला पार्टी विभाजनका लागि माधव नेपाललाई उचाल्ने उचाल्ने अनि साँच्चै पार्टी विभाजन गर्ने बेला आएपछि सुइँकुच्चा ठोक्ने काम रावलले गरेको भन्दै उनीहरु रावलप्रति रुष्ट बनेका हुन् । अब रावलका लागि सुदूरपश्चिम प्रदेश जति कठिन छ ओलीसँग टिकेर एमालेमा अघि बढिरहनु पनि त्यत्तिकै चुनौतिपूर्ण छ । ओलीको पेलान सहने तागत रावलले राखे भने त्यस्तो फरक नपर्ला तर, आवेगमा आइहाल्ने स्वभावका रावल ओलीसँग जोरी नै खोज्न लागे भनेचाहिँ के होला के होला ?
एमाले छाडेर माधव नेपालतिर लागेका नेताहरु भन्न थालेका छन् कि बरु योगेश भट्टराईले चाहिँ ठिक लाइन समाते । ओलीसँग जोरी खोज्नु भन्दा त्वम् शरणम् नै ठीक हो भन्ने उनले राम्रोसँग बुझे । भट्टराईका आलोचकहरु भन्छन् ः योगेशले ओलीसँग सिँघौरी खेल्नु भनेको आफैं सिद्धिनु हो भन्ने जानेरै आफूलाई एमालेको प्रवक्ता हुँ पनि भनेनन् । ओलीले प्रदीप ज्ञवालीलाई दिएको प्रवत्ता पद मेरो भनेर दाबी गरेनन् । ओलीले जे दिन्छन् र जे भन्छन् त्यही स्वीकारे ।
आलोचकहरु भन्छन् ः ‘योगेश भट्टराईले जसरी आफू प्रवत्ता होइन प्रदीप ज्ञवाली चाहिँ प्रवत्ता हो भनेर स्वीकारे यो उनको बठ्याइँ हो । आफू नै प्रवत्ता हुँ भनेर ओलीलाई चिढ्याउँदा ओलीले घरको न घाटको बनाइदिन्छन् भन्ने बुझेर जसरी योगेशले ट्रिक लाए त्यसैगरी भीम रावलले पनि सहज रुपमा लेखराज भट्लाई सुदुरपश्चिमको इञ्चार्ज स्वीकारे भने कुरो त्यति जटिल नबन्ला । तर, मै हुँ इन्चार्ज भन्नतरि लागे भनेचाहिँ ओलीको मुड खराब हुन सक्छ । त्यसो त रावललाई फेस सेभिङका लागि कठिन पनि छैन । एमाले उपाध्यक्ष भइसकेको मान्छे एउटा प्रदेशको इञ्चार्जका रुपमा मलाई खुम्चिनँ मन लागेन त्यसैले मैले इञ्चार्जका रुपमा लेखराज भट्टजीलाई नै स्वीकारेँ भने भने टन्टै साफ ।’