Logo
१० जेष्ठ २०८२, शनिबार
|  Sat May 24 2025

चारपटक चुनाव जित्दाका रोचक अनुभव : गणेशप्रसाद पोखरेल


मान्छेले आफूमा आत्मविश्वासको विकास गर्ने सजिलो सूत्र छ– सानातिना कुरामा लोभलालच नगर्ने, अरुलाई दिएर मात्रै खाने, कसैको मन नदुखाउने र झैझगडाको फैसला गर्नु पर्दा स्वार्थवश अन्यायको पक्ष नलिने । यति गर्न सक्यो भने मान्छेमा बलियो आत्मविश्वासको विकास हुँदो रहेछ । चित्त पनि निर्मल बन्दो रहेछ । जे कुरा पनि गर्ने आँट आउने रहेछ ।

व्यवहार गर्दै जाँदा मैले यहाँ केही इष्टमित्र कमाएँछु । गाउँलेहरु माझ निष्पक्ष र निश्कलङ्कको छवि बनाएँछु । केही कुरा बुझेको, सार्वजनिक जीवनको भएँछु क्यारे ।

वि.सं. २०१९ पुस १ गते पञ्चायती संविधान जारी भएसँगै पञ्चायतको पहिलो स्थानीय चुनाव २०१८ साल फागुन ७ गतेदेखि सुरm भयो । त्यसका लागि देशभरमा चार हजार बढी गाउँ पञ्चायत गठन गरिएका थिए । देशको भूगोलअनुसार तीन महिनाभित्र यो चुनाव सम्पन्न गरिएको थियो । यसमा खुला मतदान प्रकृया अनाइएको थियो । त्यो चुनाव हुँदाका बखत गाउँभरिको पायक पर्ने ठाउँमा मतदाताहरु सबैलाई भेला गराउने, उम्मेदवारहरुमध्ये कसको पक्षमा को–को भनेर मतदाताहरुले हात उठाउन लगाउने अनि जसको पक्षमा बढी जनताले हात उठाउँछन् उसैलाई प्रधानपञ्च, उपप्रधानपञ्च तथा वडाअध्यक्ष निर्वाचित भएको घोषणा गर्ने विधि अपनाइएको थियो । यसरी निर्वाचित भएकाहरुको कार्यकाल दुई वर्ष तोकिएको थियो ।

२०२० सालमा सरकारले गाउँ पञ्चायत ऐन तथा नियमावली खारेज गरी नयाँ ऐन तथा नियमावली जारी ग¥यो । संशोधनपछि २०२१ वैशाख १ देखि जेठ १५ सम्ममा देशभरका गाउँ पञ्चायतका लागि दोस्रो निर्वाचन भयो । यो निर्वाचनमा मतदातालाई हात उठाउन लगाउने विधिको सट्टा उम्मेदवारपिच्छेका डोरीका गोला घेरा बनाउने अनि ती गोलो घेराभित्र जसका मतदाता बढी हुन्छन् टाउको गनेर उसलाई विजयी घोषणा गर्ने प्रकृया अपनाइएको थियो ।

संविधानको पहिलो संशोधनसँगै वि.सं. २०२४ सालमा गाउँफर्क ऐन आयो । सरकारले गाउँ फर्क राष्ट्रिय अभियान अन्तर्गत किसान सङ्गठन, महिला सङ्गठन, भूपू सैनिक सङ्गठन आदि खोल्ने भयो । प्रतिबन्धित राजनीतिक दलका गतिविधिबाट तर्सिएको सरकारले मानिसहरु तिनका समर्थक नबनून्, पञ्चायती व्यवस्था र राजसंस्थाको शुभचिन्तक बनून् भनेर राजाले गरेको एउटा कोसिस थियो त्यो । मेरा शुभचिन्तकहरmले मलाई किसान सङ्गठनको सदस्यमा उठ्न आग्रह गरे । मैले सजिलै जितेँ । किसान सङ्गठन, सुरुङ्गाको पहिलो सभापति चै चन्द्रबहादुर श्रेष्ठ भए ।

दोस्रो पटक किसान सङ्गठनको चुनाव हुँदा मैले सभापति जितेँ । जिल्ला किसान सङ्गठनको सदस्यसँगै केन्द्रको मतदाता पनि भएँ । त्यो मतदाताले किसान सङ्गठनका तर्फबाट राष्ट्रिय पञ्चायत सदस्यमा उठेको उम्मेद्वारलाई भोट दिन पाउँथ्यो । सङ्गठनका तर्फबाट निर्वाचित चारजना रापंस हुन्थे ।

सुरुङ्गाको पहिलो प्रधानपञ्च कृष्णबहादुर खत्री, दोस्रा खगप्रसाद ओली र तेस्रा ताराकुमार श्रेष्ठ हुन् । त्यो बेला दुई वर्षे कार्यकाल हुन्थ्यो ।
चौथोपटक पञ्चायतको चुनाव हुँदा मतपत्रमा भोट हाल्ने चलन आयो । २०२५ सालको संशोधनबाट प्रधानपञ्च र उपप्रधानपञ्चहरुको कार्यकाल पनि चार वर्षे हुने व्यवस्था गरिएको थियो । यसपटक देवीप्रसाद ओलीसँगै म पनि चुनाव लडेँ । तर थोरै भोटले हारेँ । उनी प्रधानपञ्च निर्वाचित भए ।

२०२८ सालमा फेरि चुनाव हुने भयो । किसान सङ्गठनको गाउँ सभापति भइसकेकोले चिनारुहरु बढेका थिए । दक्षिणमा शरणामतीदेखि पश्चिममा शिवगञ्जसम्म मेरो सम्पर्क बढेको थियो । पञ्चायतको चुनाव हुने भएपछि शुभेच्छुकहरुले मलाई उठ्उठ् भन्न थाले । जे त होला भनेर उठेँ । त्यो बेला मेरो प्रतिद्वन्द्वीमा यहाँका भूमिगत मालेहरुले चन्द्रप्रसाद मैनालीलाई उठाए । तर मैले निकै ठूलो मतान्तरले उनलाई जितेँ । त्यो चुनावमा श्रीप्रसाद ओली उपप्रधानपञ्च भएका थिए ।

त्यसपछिको चुनाव २०३४ सालमा भयो । त्यसका लागि निर्वाचन आयोगले निर्वाचन गर्न सजिलो होस् भनेर १४ अञ्चललाई चार समूहमा बाँडेको थियो । पहिलो समूह सगरमाथा, लम्बिनी र सेती, दोस्रोमा भेरी, गण्डकी, बागमती र मेची, तेस्रोमा कर्णाली, महाकाली र जनकपुर, चौथोमा कोसी, नारायणी, धौवलागिरी र राप्ती परेका थिए । त्यो निर्वाचनमा अप्रत्यक्ष प्रणाली अपनाइएको थियो । यस अन्तर्गत सुरुमा ११ वटा वडाको चुनाव हुन्थ्यो । वडाबाट जितेर आएकाहरु मध्येबाट फेरि गोप्य मतदान गरेर एक जना प्रधानपञ्च र अर्को उपप्रधानपञ्च हुन्थ्यो । यसपटक मेरो प्रतिद्वन्द्वीमा चिरञ्जीवी उप्रेती उठे । उनले आफ्नोसहित पाँच भोट ल्याए, मैले सात भोट ल्याएँ । एक भोट बदर भयो । त्यसपटकको चुनावमा डिल्लीराम सिलवाल उपप्रधानपञ्च भएका थिएका ।

२०३५–०३६ को विद्यार्थी आन्दोलन र जनमतसङ्ग्रहपछि पञ्चायती संविधानलाई तेस्रो संशोधन गरियो । पञ्चायती व्यवस्थाको प्रचारप्रसार गर्न गाउँगाउँ खटाइएकाहरुले उल्टो व्यवस्थाको विरोधमा प्रचार गरेपछि गाउँ फर्क राष्ट्रिय अभियानलाई खारेज गरियो ।

यो संशोधनपछि ०३८ सालमा अर्को चुनाव हुने भयो । यस निर्वाचनका लागि देशभरका ४०२२ वटा गाउ पञ्चायत र २९ वटा नगरपालिकालाई समूह ‘क’ र ‘ख’ मा विभाजन गरियो । ‘क’ समूह अन्तर्गतमा २०३९ बैशाख २८ र २९ गते अनि ‘ख’ समूह अन्तर्गतमा जेठ ३ र ४ गते निर्वाचन सम्पन्न भयो ।

यस चुनावमा भूमिगत मालेहरुले मेरो प्रतिद्वन्द्वीमा गङ्गाप्रसाद ओलीलाई अघि सारेका थिए । तर उनको उम्मेदवारी बदर भयो । त्यसपछि त गङ्गाप्रसादका बाबु श्रीप्रसाद समेतले मेरो पक्षमा भोट मागेर हिँडेछन् । चुनावमा मेरो भिडन्त घनश्याम पनेरुसँग भयो । तर उनलाई पनि मैले सहज रुपमा जितेँ । उपप्रधानपञ्चमा तीलचन्द्र ओली विजयी भएका थिए । त्यसपटक प्रधानपञ्च, उपप्रधानपञ्च, वडाअध्यक्ष, गा.स.स.सहित ४७ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको थियो ।

पञ्चायतको अन्तिम स्थानीय चुनाव २०४३ साल चैत ७ मा भयो । त्यतिखेर काङ्ग्रेसको समर्थनमा डिल्लीराम सिलवाल उठे । यो चुनावमा भूमिगत मालेहरुले उपप्रधानपञ्चमा जनपक्षीय उम्मेदवार भनेर कपील मैनालीलाई अघि सारे । प्रधानपञ्चमा भने मलाई खुलेरै समर्थन गरे । “हाम्रो पार्टीको मान्छेलाई प्रधानपञ्च जिताउन सक्ने अवस्था नहुँदासम्म यसलाई हराउनु हुँदैन” भन्थे रे । “यसले हाम्राविरुद्ध सरकारलाई पोल लगाएर पक्राउने काम पनि गर्दैन । कसैलाई पुलिसले पक्रेर लग्यो भने आफू जमानी बसेर छुटाएर ल्याउँछ” पनि भन्थे रे ।

तर चुनाव भइसकेर मतगणना शुरु भइसकेपछि मेरा विरोधी पक्षले धाँधली ग¥यो भनेर बबण्डर मच्चाए । किनकि एक, दुई, तीन, चार र छ नम्बर वडा मेरा पकेट क्षेत्रजस्तै थिए । दुइटा वडा गन्नासाथ मेरो पक्षमा भारी मत खसेको देखेपछि उनीहरु उत्तेजित भइहाले । मेराविरुद्ध विषबमन गर्नेहरुको जमात तयार भयो । मबाट विगतमा स्वार्थ पूरा गराउन नसकेकाहरुले घुसपैठ गरेर तिनलाई उकास्ने काम गरे । त्यसपछि “सिडिओ साब आएपछि मात्रै मतगणना हुन्छ” भन्दै मतदान अधिकृतले मतगणना स्थगित गरिदिए । मतपेटिका राखिएका कोठालाई पुलिसले सिल गरिदियो । अनि गाउँपञ्चायत भवनलाई घेराउ गरेर राख्यो ।

मेरो विरोधमा मान्छेहरु सडकमा उफ्रिन थालेपछि शुभेच्छुकहरुले मलाई घर पठाए । हिँड्नुअघि मैले त्यहाँ बस्ने मेरा समर्थक शुभेच्छुकहरुलाई पञ्चायत भवन अगाडिको चन्द्रमान श्रेष्ठको होटेलमा खाजा, चिया, खाना के खानु पर्छ खानु है भनिदिएको थिएँ ।

भोलिपल्ट सिडिओ आए । तिनको नाम अहिल मैले ठ्याक्कै बिर्सेँ । उनले आफैँ बसेर मत गन्न लगाए । एक, दुई र तीन नम्बर वडाको मत गनिसक्दा मेरो र प्रतिद्वन्द्वीका बीचमा निकै ठूलो अन्तर भइहाल्यो । पाँच नम्बर वडामा पनि मै अघि भएँ । छ नम्बर वडाको मत त झन् मेरो पहिल्यैदेखि एकलौटी जस्तै थियो । म भारी मतले अगाडि बढिहालेँ । त्यो थाहा पाएपछि सडकमा उफ्रिने मेरा विरोधीहरु बिस्तारै पातलिन थालिहाले ।

त्यो चुनावमा मैले १६ सयभन्दा बढीको मतान्तरले जितेँ । त्यो बेला गाउँ स्तरमा त्यो अन्तर निकै ठूलो मानिन्थ्यो । बिरोधीहरु सबको ओठतालु सुक्यो । त्यस पटक मालेका जनपक्षीय उम्मेदवार कपिल मैनाली उपप्रधानपञ्च भए ।

चुनाव सकिएपछि मेरा मान्छेहरुले खाएको पैसा तिर्न चन्द्रमान श्रेष्ठको होटेलमा गएँ । आफूले खाजा, खाना खुवाएका मान्छेहरmको नामको सूचि श्रेष्ठले मेरा अघिल्तिर राखे । करिब दुई सय २५ जना जतिको त्यो सूचि हेरेपछि त म छक्कै परेँ । त्यहाँ मेरा शुभेच्छुक, समर्थकहरmमध्ये बढीमा २० जनाको नाम थियो । बाँकी सबै मेरो बिरोधमा सडकमा उफ्रिनेहरुको नाम पो छ ! तिनको नाम पढेर एकप्रकार हाँसो पनि लाग्यो । होटलवालासँग कुनै विवाद नगरी खुसीसाथ मैले सबै पैसा तिरिदिएँ । किनकि आफ्ना विरोधीहरुलाई नुन खुवाउने अवसर मलाई सौभाग्यले मिलेको थियो । त्यो घटना सम्झँदा अहिले पनि हाँसो लाग्छ ।
०००

सुरुङ्गा पहिल्यैदेखि भूमिगत मालेहरुको केन्द्र थियो । झापाको नाभी हो सुरुङ्गा अर्थात् उत्तर–पूर्वको बाहुनडाँगी, पश्चिम–दक्षिणको गौरादहसम्मका नेता–कार्यकर्ताहरुलाई भेला हुन सजिलो ठाउँ । बेलाबेला उनीहरुले पार्टीका मिटिङहरु पनि गरिरहन्थे । आफू प्रधानपञ्च भएका गाउँमा हुने सबै गतिविधि थाहा हुन्थ्यो तर थाहा नपाएजस्तो गरिदिन्थेँ । भेट हुँदा “यस्तो काम नगर है” चै भन्थेँ तर उनीहरुका बिरुद्ध झोसपोल लगाउने काम मैले कहिल्यै गरिनँ । यसकारण पनि उनीहरु मेरा शुभेच्छुक भएका थिए ।

भूमिगत मालेका समर्थकहरुले नै समर्थन गरेपछि मैले नजित्ने कुरै भएन । शिक्षकहरmले खुलेर चुनाव प्रचार नगरे पनि भित्रभित्रै मेरो पक्षमा माहौल निर्माण गर्न महङ्खवपूर्ण भूमिका निर्वाह गरे । किनकि सुरुङ्गाभरिका स्कुलहरmलाई आर्थिकरुपमा सम्पन्न बनाउने काम मैले सुरmदेखिकै कार्यकालदेखि गर्दै आएँ ।

भूमिगत मालेहरुले सुरुदेखि नै मलाई समर्थन गर्नुका केही कारण छन् । पहिलो घटना २०३३ सालतिरको हो । २०२८ साल काण्डपछि तिलमिलाएको पञ्चायती सरकारले झापाका विभिन्न ठाउँबाट मान्छे समातेर चन्द्रगढी ल्याएछ । सुरुङ्गाका तीन–चारजना परेछन् । केरखा, गौरादह आदि ठाउँका पनि रहेछन् । गौतम थरका एकजनालाई ताप्लेजुङबाट पनि समातेर ल्याएको रहेछ । आफ्नो गाउँका मान्छे पक्राउ परे भन्ने थाहा पाएपछि तिनलाई छुटाउन भनेर चन्द्रगढी गएँ । त्यो बेला हिराप्रसाद श्रेष्ठ भन्ने एसपी थिए । उनले मेरो कुरा खान्थे । त्यही विश्वासमा आफ्ना मान्छे छुटाउन गएको थिएँ ।

एसपीले सकारात्मक कुरा गरेपछि जिल्ला प्रशासनको सिफारिस लिन सिडिओ कार्यालय गएँ । स्याङ्जातिर घर भएका चव्रmबन्धु अर्याल सिडिओ थिए । पछि उनी सचिव पनि भए क्यार । तर म पुग्दा उनी कार्यालयमा रहेनछन् । सहायक सिडिओ ईश्वर शाहसँग भेट गरेँ । उनी त मलाई “पक्राउ परेका सबै मान्छे लैजानोस्” पो भन्छन् ! जवाफमा मैले भनेँ– “म त मेरा मान्छे लिन आएको । जमानी बसेर सबै मान्छे लैजाउँला, भरे सरकारले खोजेको बेलामा ल्याउन सकिनँ भने के गर्नु हुन्छ नि ?”

उनी धेरै बोलेनन् । पुलिसले पक्राउ गरेर ल्याएका मान्छे प्रशासनलाई घाँडो भएको रहेछ । उनले भने– “लैजानोस् न ।” त्यसपछि सबैलाई छुटाएर लिएर आएँ ।

मैले छुटाएका मान्छे जिल्लाभरिका थिए । उनीहरु मार्फत् मेराबारेको चर्चा जिल्लाभरि हुने नै भयो । उनीहरुले सुरुङ्गा क्षेत्रमा मिटिङहरु गर्दा मैले थाहा नपाएजस्तो गरिदिएपछि स्थानीयहरुले चुनावमा मलाई सहयोग नगर्ने कुरै भएन ।

अब म फेरि भूमिगत मालेहरुले चुनावमा मलाई सहयोग गर्नुको अर्को कारण बताउँछु ।

एकपटक यहाँका चिनिएका माले नेता चैतन्य मैनालीलाई पुलिसले पक्रेर घैलाडुब्बा थाना लगेछ । उनी राधाकृष्ण, सिपी मैनालीका भाइ हुन् । त्यो कुरा मैले भोलिपल्ट थाहा पाएँ । गएर थानेदारसँग कुरा गरेँ । अनि आफैँ जमानीमा बसेर छुटाएर साथमै लिएर आएँ । त्यो बेला सुरुङ्गामा थाना थिएन । यो इलाका घैलाडुब्बा थाना अन्तर्गत पर्दथ्यो ।

त्यसपछिका दिनमा पनि पुलिसले जतिलाई पपक्रन्थ्यो लगभग सबैलाई छुटाएँ । तर पक्रेकै दिन छुटाउन जान्नथेँ । भोलिपल्ट या पर्सिपल्ट गएर छुटाएर ल्याउँथेँ । त्यो बेला मेरो पहुँच माथिल्लो तहमा त थिएन तैपनि पुलिस प्रशासनले मेरा कुरा राम्रैसँग खान्थ्यो । उनीहरुको नजरमा म पञ्चायती व्यवस्थाको पत्यारको खास मान्छे थिएँ ।

२०४६ सालको आन्दोलनका बेला पनि चैतन्य मैनाली, उपप्रधानपञ्च कपील मैनाली, ४ नं. का वडाअध्यक्ष भीम अधिकारीसहित यहाँका चिनिएका चार–पाँच जना माले नेताहरुलाई पुलिसले पक्रेर घैलाडुब्बा थाना लगेछ । हिरासतमा मानवोचित व्यवहार गर्नुसाटो अलि चर्कै यातना दिएछ । भीम अधिकारी ज्वरोले थला पर्दा समेत पुलिसले उपचार गर्न लगेनछ । हिरासतमा भेट्न जानेहहरु मार्फत् मलाई खबर आयो । त्यो बेला मेरो छोरो राजेन्द्र समेत उनीहरुको पार्टीमा लागिसकेकोले मलाई अझै बढी विश्वास गर्न थालेका थिए ।

भोलिपल्टै घैलाडुब्बा थाना गएँ । थानेदारका अगाडि उनीहरुसँग पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गरेर विदेशीहरुलाई सहयोग गर्ने काम नगर भनेँ । तर थानेदारसँग छुट्टैचाहिँ “सरकार लत्रिसकेको छ, आन्दोलनकारीलाई सताउने काम नगर्नुस् । यिनीहरmले राजनीति गरेका हुन् डकैती या ज्यानमार्ने उद्योग गरेका हैनन् । यिनलाई थुन्न पाइन्छ तर कुटपिट गर्ने काम नगर्नुस् है । सक्नु हुन्छ भने विरामीको उपचार गर्नुस् हैन भने मेरो जिम्मामा छाडिदिनुस्” पनि भनेँ ।

मैले यति भनेपछि थानेदार उनीहहरुप्रति अलि नरम हुन तयार भयो तर मेरो जिम्मामा छाड्न चै मानेन । त्यसको चार–पाँच दिनपछि त पञ्चायती व्यवस्था ढलेर उनीहरु आफैँ छुटिहाले ।

भीम अधिकारीको सन्दर्भ आउँदा एउटा कुरा पनि सम्झन्छु । त्यो बेला सुरुङुगा पञ्चायतमा आफूभन्दा मुनिका पदमा भएका उमेरमा आफूभन्दा साना सबैलाई म ‘तिमी’ भनेर सम्बोधन गर्थेँ । बैठकमा नचाहिने कुरा गर्नेहरुलाई कड स्वरमा “तिमी चूप लाग” पनि भन्थेँ । यो मेरो पुरानो आदत थियो । यसलाई सबैले सामान्य रुपमै लिन्थे । तर वडाअध्यक्ष भीम अधिकारीलाई भने मेरो यसखाले व्यवहार पचेको रहेनछ । एउटा बैठकमा तिमी भनेर के सम्बोधन गरेको थिएँ, उनी त कड्किहाले– “तपाईंले मलाई के सोच्नुभएको छ ? जनताबाट निर्वाचित भएर आएको प्रतिनिधि हुँ । तपाईंको घरको हरुवाचरुवा हुँ ?”

उनको कुराले मलाई भित्रैसम्म छोयो । एकदमै पश्चाताप महसुस भयो । तत्कालै मैले उनीसँग क्षमा मागेँ । त्यसपछिदेखि आफूले मनले खाएकाहरु बाहेक कसैलाई पनि तिमी भनेर सम्बोधन गर्ने गल्ती गरिनँ ।
०००
मैले जीवनमा जतिचोटि चुनाव लडेँ सधैँ गाई चुनाव चिह्न लिएर लडेँ । बहुदलपछि राप्रपाले आफ्नो चुनाव चिह्न बनाए पनि यो मेरो सुरुदेखिकै रोजाई थियो ।

चुनावका बेलामा मलाई थुप्रै मान्छेले साथ दिन्थे । मासुभात र जाँडरक्सीमा अहिलेजस्तो फजुल खर्च पनि गरिराख्नु पर्दैनथ्यो । गाडी कुदाउने चलन थिएन । हिँडेरै सबैतिर भ्याइन्थ्यो । हरेक चुनावमा पूर्वप्रधानपञ्च द्वय देवीप्रसाद ओली र कृष्णबहादुर खत्रीले खुलेरै सहयोग गर्नुभयो । म निरन्तर प्रधानपञ्च हुनुमा उहाँको शुभेच्छा र सहयोगले पनि ठूलो काम गरेको थियो । तुलसीबारीका विष्णुप्रसाद दाहाल, हालको चप्रामारीका ताराकुमार श्रेष्ठ, सुरुङ्गा–९ टप्पुका कैलाश याक्सो र चन्द्रबहादुर बुढाथोकी आदिबाट पनि सधैँ साथ र सहयोग पाएँ ।

त्यो बेलाको वडा नं. ३ अर्थात् अहिलेको ५ नं. वडामा घर भएका शिवप्रसाद मैनालीसँग मेरो कुरा कहिल्यै मिल्दैनथ्यो । सार्वजनिक हितका लागि मैले गरेका हरेक कुरा या काममा उनले खोंचे थापेकै हुन्थे । उल्टासुल्टा तर्क निकालेर प्रतिवाद गरेकै हुन्थे । तर चुनावका बेला भने उनले सधैँ साथ दिन्थे रे । आफूकहाँ आउने मान्छेहरmलाई उनले “त्यसले झगडा पार्दैन, कसैलाई अन्याय गर्दैन, भोट चै त्यसैलाई दिनुपर्छ है ।” भन्थे रे ।

चन्द्रप्रसाद मैनाली पनि मेरा राम्रा शुभचिन्तक थिए । एकपटकको चुनावमा मेरो प्रतिद्वन्द्वी पनि भएका थिए । त्यसपछिका चुनावमा भनेँ उनले मलाई खुलेरै साथ दिए । कोही कसलाई भोट हाल्ने होला भनेर सोध्न गयो भने “मुखको छुचो भए पनि मान्छे खराब छैन, त्यसैलाई जिताउनु पर्छ” भन्थे रे ।

धेरैको नाम त मैले अहिले बिर्सिसकेँ । तर वडा नं. ३ का भोजराज बोहोरा, लक्ष्मण बोहोरा, माथुराम गिरी र ललितमान गिरीहरु, वडा नं. ४ का मोहन कार्की र बालकृष्ण घिमिरेहरु, वडा नं. ६ का पाठक तथा रिजालहरु वडा नं. ८ का हेमबहादुर श्रेष्ठ, पदमबहादुर वन, धनार्जन तिवारी, डिल्लीराम थपलिया, ऋषिराम ढकालहरmको सहयोग पनि बेलाबेला याद आउँछ । एकपटकको चुनावमा मेरा प्रतिद्वन्द्वी समेत भएका झलकरमण सुवेदी पनि मेरा ठूला शुभचिन्तक हुन् । अरु चुनावमा उनले मलाई खुलेरै सघाएका थिए ।

मेरो पुरानो घर मास्तिरका शम्भु खड्का पुराना काङ्ग्रेस हुन् । तर हरेक चुनावमा उनले मलाई सघाए । ०७ सालदेखिका काङ्ग्रेस भए पनि सतारहरुको लगभग सबै भोट मलाई आउँथ्यो । बाबुलाल, सोम र लखन सतार त मेरो चुनाव प्रचारमै हिँड्थे । वडा नं. ७ छेदीबस्तीका लगभग सबै मेरा शुभचिन्तक थिए । तामाङहरु, प्रधानहरु, उप्रेतीहरु सबैले मलाई सघाउँथे । मेरो घरभन्दा अलि टाढा भए पनि कोटीहोमभन्दा दक्षिणमा रहेको वडा नं. ४ बाट मैले सबैभन्दा बढी भोट पाउँथे ।

अतिमान दर्जी र पूर्णबहादुर खत्रीले त ढाल बनेर हरेक चुनावमा मलाई साथ दिए । भोकप्यास नभनी रातदिन खट्थे । मेरो सुरक्षाका लागि ज्यान दिन पनि तयार हुन्थे । ती दुवै अहिले बितिसके । अतिमानको एउटा छोरालाई मेरो जेठो छोरा राजेन्द्रले उनीहरुको चिया बगानमा अहिले पनि राम्रै जिम्मेवारी दिएर राखेको छ । अरु छोराका परिवार चै बिर्तामोडतिर छन् । खत्रीका छोराहरु पनि यतै छन् । बेलाबेलामा मलाई भेट्न आउँछन् ।

धेरै अघिको कुरा भयो । मलाई हृदयदेखि साथ दिनेहरु सबैको नाम अहिले सम्झिन सकिनँ । तर बेलाबेला ती सहृदयीहरु सबैको याद आउँछ । व्यक्तिगत स्वार्थ बोकेर मलाई सघाउने अनि त्यो पूरा नहुनासाथ मेरो विरोधमा उत्रनेहरुलाई पनि बेलाबेला सम्झन्छु । तर अहिले तिनीहरुप्रति मेरो कुनै गुनासो छैन । उनीहरुले आफ्नो बुद्धिले जति भ्याउँथ्यो, त्यति गरे । त्यसमा मैले किन गुनासो बोक्नु ?

(कृष्ण अविरलको लेखन तथा सम्पादन रहेको यो पुस्तकलाई अजम्बरी पब्लिकेसनले बजारमा ल्याएको छ ।)


प्रतिक्रिया दिनुहोस !
विचार