Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

बालबालिकालाई लगाउने एक करोड डोज फाइजर र मोडर्ना खोप आउँदै


१२ देखि १८ वर्षका बालबालिकालाई लगाउनका लागि १ करोड मात्रा खोप छिट्टै आउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्। बालबालिकालाई लगाउन मिल्ने ५० लाख मात्रा फाइजर र ५० लाख मात्रा मोडर्ना खोप ल्याउने प्रक्रिया अघि बढिसकेको मन्त्री खतिवडाले बताए।

१ करोड मात्रा खोप बुकिङ भइसकेको र केही दिनभित्र नेपाल आउने उनले बताए। ‘हामीले यथाशक्य चाँडै सबै जनतालाई खोप लगाउने लक्ष्य राखी खोप छिटो ल्याउने कोसिस गरेका छौँ, जसले गर्दा एक करोड फाइजर र मोडर्ना खोप चाँडै आउँदै छ’‚ उनले भने।

बिहीबार अमेरिकी सरकारले कोभ्याक्समार्फत दिएका १ लाख २० हजार मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो। उक्त खोप १२ वर्षमाथिका दीर्घ रोगका विरामी बालबालिकालाई कात्तिक २८ गतेदेखि दिने मन्त्रालयले तयारी गरेको छ।

यसैगरी मन्त्री खतिवडाले चीन र भारतमा पनि ११ वर्षमाथिका बालबालिकालाई लगाउने खोप अन्तिम ट्रायल भइरहेकाले जहाँबाट चाँडो ल्याउन सकिन्छ त्यहीँबाट ल्याएर खोप लगाइने बताए।

मन्त्री खतिवडाले मन्त्रालयले चैतसम्म सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाइसक्ने गरी अगाडि बढेको समेत बताए।

 


प्रतिक्रिया दिनुहोस !
विचार