
तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर आयात भएको छ । माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै तातोपानी भन्सार नाकासम्म हेलिकप्टर ल्याइपु¥याएको हो ।
उक्त हेलिकप्टरलाई ४० फिटे कन्टेनरमा लोड गरी ल्याइएको माउन्टेन हेलिकप्टर कम्पनीका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले जनाएका छन् । उनका अनुसार उक्त हेलिकप्टर फ्रान्सको एयरबस कम्पनीमा बनेको हो । त्यसलाई चीनको बाटो हुँदै नेपाल ल्याइएको हो । अहिले तातोपानी भन्सार नाकामा जाँचपासको प्रक्रिया चलिरहेको जनाइएको छ ।
हेलिकप्टरका पंखा लगायतका पार्टपूर्जा खोलेर ४० फिटे कन्टेनरमा लोड गरेर कस्टमसम्म ल्याइएको हो । तातोपानी भन्सार नाका हुँदै कम्पनीले पहिलोपटक हेलिकप्टर ल्याएको बताइएको छ । पहिले एउटा हेलिकप्टर कलकत्ता बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौं ल्याइएको थियो । तातोपानी भन्सार नाका हुँदै हेलिकप्टर ल्याएको भने यो पहिलोपटक भएको जनाइएको छ ।
चीनबाट नेपाल भित्रिने प्रमुख दुईवटा नाका छन् । एउटा तातोपानी र अर्को टिमुरे । टिमुरेको बाटो साँघुरो र अप्ठेरो भएकाले हेलिकप्टर ल्याउनलाई तातोपानी नाका रोजेको कम्पनीले जनाएको छ ।
उक्त हेलिकप्टर जाँचपास पछि माउन्टेन फ्लाइटमा प्रयोग गर्ने जनाइएको छ ।