Logo
२८ आश्विन २०८२, बुधबार
|  Wed Oct 15 2025

इरानबाट फर्किंदै गरेका अफगानी चढेको बसमा आगलागी, ७३ जनाको मृत्यु


अफगानिस्तानमा बस दुर्घटना हुँदा ७३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १७ जना बालबालिका रहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । दुर्घटनाग्रस्त बसमा धेरैजसो इरानबाट फर्काइँदै गरिएका अफगानी प्रवासीहरू थिए ।

तालिबानको सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुक्तकीले काबुल जाँदै गरेको बसमा ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी भएको बताएका छन् । बसमा सवारमा सबैको मृत्यु भएको र ठोक्किएको अरू दुई सवारीमा रहेका दुई जनाले समेत ज्यान गुमाएका छन् ।

घटना मंगलबार बेलुकीको हो । हालैका महिनामा गृहयुद्धका कारण अफगानिस्तानबाट भागेका अफगानी नागरिकलाई इरानले स्वदेश फिर्ता पठाउनेक्रमलाई तीव्रता दिएको छ । सन् १९७० को दशकमा लाखौं अफगानी भागेर इरान र पाकिस्तान गएका थिए ।

सन् १९७९ मा अफगानिस्तानमा शोभियत संघको आक्रमणका दौरान र सन् २०२१ मा तालिबान पुनःसत्तामा आएपछि अफगानीहरूले अन्य मुलुक पलायन हुनेक्रम बढेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार