Logo
२०८१, १८ बैशाख मंगलवार
|  Tue Apr 30 2024

के तपाईं थाईल्याण्ड भिसाका लागि जाँदै हुनुहुन्छ ? एकपटक यो पढ्नुहोस् : डिल्ली तुलाधर


हालै थाइल्याण्डको भिसा लिँदाको मेरो एउटा अनुभव आज म यहाँहरुलाई सेयर गर्न चाहन्छु । म कस्तो समस्यामा परेँ र के भयो भन्ने कुरा सबै खुलेर बताउँदैछु । पहिले पहिले थाइल्याण्ड ( बैंकक ) जाने क्रममा बाँसबारी स्थित थाई दूतावास बाट भिसा लिएर जाने गरिन्थ्यो । तर, अहिले उक्त कामका लागि भिएफएस ठमेलको छायाँदेवि कम्प्लेक्समा जानुपर्ने ब्यवस्था छ । मैले भिएफएसको गार्डको व्यवहारको बारेमा यसअघि पनि पत्रिकामा पढेको थिएँ । एकजना मन्त्रीसँग गार्डको व्यवहारको विषयले त्यो कुरा निकै चर्चामा थियो । हुन त मन्त्रीसँग नै त्यस्तो व्यवहार भएको ठाउँमा हामी जस्तासँग राम्रो व्यवहारको अपेक्षा गर्ने कुरा पनि भएन ।

के हामी बिदेश जाने भनेको केवल बैदेशिक रोजगारीको लागि मात्रै हो ? के नेपाली सबै बिदेश पलायन हुनको लागि मात्रै बिदेश जान्छन् भन्ने छ र ? पक्कै त्यस्तो होइन । तर, त्यहाँका गार्डले मलाई त्यस्तै व्यवहार देखाए ।

थाईल्याण्डको भिसाका लागि भिएफएसबाट अनलाईनबाट एपोइन्टमेन्ट लिनुपर्छ भनियो र सोही अनुसार मैले वेभसाइटमा गएर अनलाईन रजिष्टर आफ्नो इमेलबाट गरेँ । त्यस लगत्तै एपोइन्टमेन्टको मिती देखायो तर ४ दिन पछिको थियो त्यो । स्वास्थ्य जाँचका लागि तत्काल बैंकक जानुपर्ने भएकाले ४ दिनपछिको एपोइन्टमेन्ट कुरेर बस्ने अवस्था थिएन । त्यसैले उक्त एपोइन्टमेन्ट क्यान्सिल गरेर पुनः रजिष्टर गर्न खोजेँ तर, रजिष्टर गर्न खोज्दा २ घन्टाका लागि रजिष्टर गर्न बन्देज लगाइएको भनियो । तर, मैले कम्प्युटर अफ गरेर पुनः कम्प्युटर खोली रजिष्टर गर्दा एकदिनपछि दिउँसोको १ः२० को कन्फर्मेसन समय आयो र मैले त्यो बारकोड प्रिन्ट गरेँ ।

भोलिपल्ट भिएफएसको अफिस गएँ र गार्डलाई सो बारकोड भएको कागज देखाएँ । गार्डले माथि भिएफएसको अफिस जान अनुमति दिए । माथि अफिसमा चार पाँच जना कलेजका बिधार्थीजस्ता देखिने डेक्समा बसिरहेका थिए उनीहरुले मलाई बोलाए । मैले एपोइन्टमेन्ट पत्र देखाएँ उनीहरुले भिसा फर्म खोई भनेर सोधे । मैले भनेँ, भरेको छैन तपाईंहरुको वेभसाइटमा त्यसबारे केही भनेको छैन सिर्फ एपोइन्टमेन्ट मात्र भनेको थियो भन्दा उनीहरुले मलाई एक कपि भिसा फर्म दिए । एक जनाको ३ कपिका दरले भर्नपर्ने र त्यसका लागि फोटोकपी गर्न भन्दै अफिसमै फोटोकपीको व्यवस्था रहेको उनीहरुले जानकारी दिए । हामी ३ जना जानु पर्ने थियो हामीले ९ प्रति फोटोकपी गरेर ९० रुपैंयाँ बुझायौं ।

त्यसपछि चेक लिष्ट हेरेर तपाईको ३ वटा पासपोर्ट साईजको फोटो, कन्फर्म हवाई टिकट, बस्ने होटलको बुकिड कन्फर्म, ६ महिनाको बैक स्टेटमेन्ट र असी हजार बैंक मौज्दात भएको हुनुपर्ने भनियो । साथै भ्रमणको इतिनेरर्य पनि चाहिन्छ र बिरामीको अस्पतालको चिठ्ठी पनि चाहिन्छ भनियो । तपाईं यो सबै २ बजे भित्र ल्याउनुस् नत्र अर्को एपोइन्टमेन्ट लिएर मात्र आउनुस भनियो । तर, हामीसँग सबै कागजातहरु साथमा नै थियो सिर्फ फर्म भर्न बाँकी । हामीलाई फर्म भरेर बैंकमा भिसा फि ५००० रुपैंयाँ र भिएफएस सेवा शुल्क पच्चीस सय रुपैंयाँ गरी जम्मा ७५०० तिरेर ५ दिन पछि लिन आउनु भनियो ।

म थाईल्याण्ड स्वास्थ्य उपचारको लागि जानु परेको हुनाले अलि छिटो भिसाको लागि दूतावासको कन्सुलरलाई इमेलबाट चाँडो भिसाको लागि सहयोग गरिदिनोस भनेर बैककको अस्पतालको पत्र समेत हालेर आग्रह गरेँ । कन्सुलरले मेरो आग्रहलाई मनन गरेर भिएफएसलाई पनि इमेल मार्फत अनुरोध गयो । त्यसको केही समयमा नै हामीलाई भिएफएसको अफिसबाट फोन आयो कि १२ बजे तपाईहरुको पासपोर्ट सहित सक्कली नागरिकता लिएर आउनुहोला ।

म हतारहतार भिएफएस पुगँे तर गार्डले मलाई भिएफएस अफिससम्म जान अनुमति दिएनन् । मैले उनलाई बारम्बार आग्रह गरेँ भाई मेरो पासपोर्ट लिनुपर्नेछ । तर, दुई बजेपछि मात्र पासपोर्ट दिने अहिले होईन बाटो छोडिदिनु भनेर मलाई हटाउँन खोजे । मैले विनम्रताका साथ गार्डलाई भिएफएसको कार्यालयबाट नै फोन आएको भन्दा पनि मेरो कुरालाई उनले वास्ता गरेनन् । म बारम्बार आग्रह गर्दै गएँ । तर, गार्डले अपमानजनक व्यवहार गरे । त्यसपछि मैले अलि ठूलो स्वरमै भनेँ , भाई भिएफएसको कर्मचारीलाई बोलाइदिनुस् । तर, उनले मेरो काम होईन म ड्युटी मा छु तपाईं खुरुक्क दुईबजे आउनु तपाइँलाई कतिचोटी भन्नु भन्दै झपारे । त्यसपछि मैले भनेँ, अस्ती पर्यटनमन्त्रीले तपाईको साथीलाई दरवारमार्ग प्रहरीमा लगेको कुरा बल्ल बुझ्दैछु । यस्तै हुन्छ व्यवहार ?

केहीबेरको सवाल जवाफपछि उनले मलाई एकतला माथि जाने अनुमति दिए । माथि महिला गार्ड पनि यसअघिको अर्को गार्डको जस्तै २ बजेपछि मात्रै पासपोर्ट लिने हो कसले भनेको भन्दै झर्किइन् । मैले भनेँ , तपाईं भित्र एक चोटी सोध्नुस । तर, उनले मेरो काम त्यो सोध्ने होइन भनिन् । पछि मैले शिष्ट शैलीमा फोन नंम्बर मोवाइलमा देखाएपछि भित्र सोध्न गइन् र मलाई भित्र जाने अनुमति दिइन् । भित्र जाने बित्तिकै त्यहाँका कर्मचारीले तुरुन्तै पासपोर्ट दिए ।

मैले यो कहानी लेख्नुको कारण अरु केही होइन । म नेपाली हो तर, नेपालमैं म अपमानित हुनुमा मलाई दुःख लाग्छ । थाईभिसाको लागि गार्डसँग लफडा मैले मात्रै होइन धेरैले गर्नुपरिरहेको छ । यो अवस्था बारम्बार सिर्जना भइरहेका कारण थाइभिसाका सन्दर्भमा इन्फर्मेसन डेस्क राखेको भए के हुन्थ्यो होला ? पच्चीस सय सर्भिस चार्ज लिएर यस्तै हो सुविधा ? के सबै दूतावासहरुको सूचना दिने काम गार्डको हो ? त्यहाँ सूचना दिने आधिकारिक व्यक्तिको आवश्यकता पर्दैन ? मलाई लाग्छ, सूचना दिने अधिकारीको व्यवस्था भए यी र यस्ता समस्या सेवाग्राहीहरुले झेलिरहनुपर्ने थिएन ।


प्रतिक्रिया दिनुहोस !
विचार