काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ । सोमबार बेलुकी सम्पन्न खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ५ विकेटले पराजित गरेको हो ।
जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.४ ओभरमा ५ विकेटको क्षतिमा १ सय ३१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमको लागि ब्राण्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए । उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै इशाला पाण्डेले २५ र विनोद भण्डारीले ११ रन बनाए । आरिफ शेख २० र शर्फान रुथरफोर्ड २१ रनमा नटआउट रहे ।
चितवनको लागि रञ्जित कुमारले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिँदा रिजन ढकाल र मौसम ढकालले समान एक/एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको चितवनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । चितवनको लागि रवी बोपाराले सर्वाधिक ४९ रन वनाए । उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै विवेक यादले १७, डेविड मलानले १६ तथा कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५/१५ रन बनाए ।
सुदूरपश्चिमको लागि स्कट कुगेलेइनले दुई विकेट लिँदा हेमन्त धामी, दीपेन्द्र सिंह एरी र अनिल खरेलले समान एक/एक विकेट लिए ।जितसँगै सुदूरपश्चिम४ खेलबाट ४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको चितवन ३ अंकको साथ पाँचौं स्थानमा रहेको छ ।








