पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री त्रिपाठीले जनता प्रगतिशलि पार्टी गठन गरेका हुन् । पार्टी घोषणापछि पूर्वमन्त्री त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताए ।
उनले अहिले देशमा वैचारिक बहस शुन्य रहेको र वर्तमान अवस्थामा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकोले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको बताए । पूर्वमन्त्री त्रिपाठीले अन्य दलको आलोचना नगरी काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने पनि दाबी गरे ।
पूर्वमन्त्री त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण,स्थानीय तहको सीमांकन, मुलुकको अर्थतन्त्र,मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेशाहरुको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरुमा आफ्नो पार्टीले वैचारिक बहस गर्ने बताए । त्रिपाठीले एमसीसी लगायत कतिपय विषयहरुमा राष्ट्रिय सहमति खोज्नुपर्ने पनि बताए ।





