Logo
२८ आश्विन २०८२, बुधबार
|  Wed Oct 15 2025

चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव


राष्ट्रपति रामचन्द्र पौडेलले चुनावका लाग राजनीतिक वातावरण तय गर्न सरकारलाई सुझाव दिएका छन् ।

चुनावको कार्यतालिका समेत आइसकेको अवस्थामा राजनीतिक दलहरूसँग सरकारको संवाद नै नभइरहेको अवस्थामा राष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री कार्की बिहीबार अपरान्ह अर्थमन्त्री रामेश्वर खनाल र सञ्चारमन्त्री जगदीश खरेललाई लिएर राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास गएकी थिइन् ।

‘राष्ट्रपतिले भयरहित ढंगल चुनाव हुने वातावरण तय गर्नका लागि सबैलाई विश्वस्त पार्न सरकारलाई सुझाव दिनु भएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगले चुनावको तयारी गरिरहेको र त्यसअनुसार सरकारले चुनावका लागि आवश्यक तयारी गरिरहेकोबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेकी थिइन् ।

भेटमा संलग्न सञ्चारमन्त्री खरेलका अनुसार चुनावका लागि सरकार र निर्वाचन आयोगले गरिरहेका कामहरुकैबारे छलफल भएको छ । ‘सरकार, राजनीतिक दल, जेनजी लगायत सबै चुनाव समयमै हुने कुरामा स्पष्ट भएर जानुपर्छ भन्ने राष्ट्रपतिको सुझाव सरकारले ग्रहण गरेको छ,’ खरेलले भने, ‘चुनाव समयमा गर्ने कुरामा राष्ट्रपतिको पनि स्पष्ट धारणा छ । त्यसैले मुलुकका सबैको मिसन चुनाव मात्रै हो त्यही तर्फ सबैको ध्यान हुनुपर्छ भन्ने छ ।’

सरकार बनेको करिब तीन महिना बितिसकेको छ । तर यो बीचमा राजनीतिक दलहरूसँग सरकारको औपचारिक संवाद भएको छैन ।

राजनीतिक दलका नेताहरूले यो बीच राष्ट्रपति पौडेलललाई भेटेर चुनावका मुख्य सरोकारवाला दललाई सरकारले वास्ता नगरेको भन्दै गुनासो पनि गरिरहेका थिए ।

केही दिन अघि कांग्रेसका नेताहरु पुगेर राष्ट्रपति पौडेललाई राजनीतिक संवादका लागि सहजीकरण गर्न राष्ट्रपतिकै ध्यानाकर्षण गराएका थिए ।

दसैं अघि एमाले नेताहरुले पनि राष्ट्रपतिलाई भेटेका थिए । त्यसक्रममा उनीहरुले सरकारले चुनाव गराउने दिशामा ध्यान नदिएको धारणा राष्ट्रपतिसमक्ष राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार