
राष्ट्रपति रामचन्द्र पौडेलले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरू र सरकारसँग निर्वाचनबारे छलफल गर्ने भएका छन् । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलले सरकार र राजनीतिक दलहरूसँग छलफल गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन घोषणा गरेको छ । तर, निर्वाचनका ‘स्टेक होल्डर’ राजनीतिक दलहरूसँग संवाद अगाडि नबढाएपछि राष्ट्रपतिले संवाद गर्न लागेका हुन् ।
बिहीबार प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसँगको भेटपछि दलहरूसँग छलफल गर्ने निष्कर्षमा राष्ट्रपति पौडेल पुगेका उनी निकट स्रोतले जानकारी दियो ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र मन्त्रीहरूसँग पनि निर्वाचनबारे चासो राख्दै त्यसका लागि सबै राजनीतिक दलहरूसँग संवाद र पहल गर्न भनेका थिए ।
त्यसपछि प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन दलहरूसँग संवादको पहल गरिदिन राष्ट्रपति पौडेललाई अनुरोध गरेपछि पौडेलले आजका लागि बैठक बोलाएको बताइएको छ ।