Logo
२८ आश्विन २०८२, बुधबार
|  Wed Oct 15 2025

के भन्ने गृहमन्त्रीलाई ?


ओमप्रकाश अर्याल गृहमन्त्रीमा नियुक्त भएको अब कहीदिनपछि एक महिना हुन्छ । तर, यो १ महिनाको अवधीमा गृहमन्त्री अर्यालले उत्साह जगाउँने खालको अझ भनौं जनतालाई अनुभूत हुने खालको के काम गरे भनेर नियाल्ने हो भने खास त्यस्तो भेटिँदैन ।

गृहमन्त्रीमा नियुक्त भएपछि उनीसँग मुलतः नागरिकका तीन अपेक्षा थिए । पहिलो अपेक्षा भदौ २३ गते निहत्था नागरिकमाथि गोली वर्षाउँनेलाई पक्राउ गरेर कारबाही । दोस्रो अपेक्षा भदौ २४ गते सिंहदरबार, सर्वोच्च अदालत सहित भौतिक संरचनामा आगो लगाउँनेहरुलाई कारबाही । अनि तेस्रो अपेक्षा जनताको जीउ धनको पूर्ण सुरक्षा हुनेगरी शान्ति सुरक्षाको प्रत्याभूती । तर, यी तीन अपेक्षा पुरा गर्नेगरी गृहमन्त्री अर्याल अघि बढेको अनुभूति जनतालाई भएको छैन ।

भदौ २३ गते निहत्था नागरिकमाथि गोली वर्षाउनेलाई खोई कारबाही भन्दै जनताले प्रश्न गरिरहेका छन् । तर, देशका गृहमन्त्री खोई के खोई के भने जस्तो गरिरहेका छन् । भदौ २३ र २४ को घटनाबारे छानबीन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन नआईकन उनले यो बारेमा सिन्को भाँच्ने पनि छाँटकाँट देखाएका छैनन् । जाँचबुझ आयोगले प्रष्ट भनिसकेको छ, फौजदारी अभियोग देखिने खालका विषयमा कोही कसैलाई कारबाही गर्नका लागि जाँचबुझ आयोगको प्रतिवेदन कुरिरहन पर्दैन । तर, गृहमन्त्री अर्याल भने त्यो प्रतिवेदन यसरी कुरेर बसेका छन् कि मानौं त्यो प्रतिवदेन नआईकन उनले केही गर्नै मिल्दैन ।

भदौ २३ मा निहत्था नागरिकमाथि गोली वर्षाउने र वर्षाउन आदेश दिने कसैलाई तत्कालै छुने आँट नदेखाएका गृहमन्त्री अर्यालले यति लाजमर्दो काम गरे कि २४ भदौमा लुटपाट मच्चाउँने केहीलाई प्रहरीले दुःख गरीगरी अनेक उपाय अपनाएर समात्दा समेत उनले अहिले छाडिदिनू भन्ने आदेश दिए । भदौ २४ मा सार्वजनिक तथा नीजि सम्पतिमा लुटपाट मच्चाउनेलाई पनि कारबाही गर्नुपथ्र्यो र भदौ २३ मा गोली वर्षाउन आदेश दिनेलाई पनि । राज्यका नजरमा अपराधी अपराधी नै हुनुपर्ने हो । तर, जाँचबुझ आयोगले प्रतिवेदन कुरिरहन पर्दैन भन्दा समेत न त उनले गोली वर्षाउन आदेश दिनेलाई केही गरे न त लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेकोमा प्रहरीलाई धन्यवाद नै भने । बरु उनले त किन पक्राउ गरेको शैलीमा गृहमन्त्रालयबाट एउटा विज्ञप्ती निकाल्न लगाए । अनि यसरी सर्कुलर जारी गरे कि पक्राउ परेकाहरुलाई धमाधम छाड्न प्रहरी बाध्य भयो ।

भदौ २३ र २४ का सन्दर्भमा दोषीलाई कारबाही गर्न उदासिनता मात्रै होइन गृहमन्त्रीको पदमा रहेर गर्नै नहुने काम अर्थात प्रहरीले दुःख गरेर समातेर ल्याएकालाई पनि छाड्नू भन्ने आदेश दिएका अर्यालले अर्को एउटा बहादुरी भने यो बीचमा देखाए । त्यो के भने भदौ २३ र २४ गतेका दोषीलाई कारबाही गर्नु भन्दै माइतिघरमा प्रदर्शन गर्न गएका केहीलाई पक्राउ गर्ने काम ।

गृहमन्त्री अर्यालसँग जनताले गरेको तेस्रो अपेक्षा शान्ति सुरक्षाको थियो । तर, शान्ति सुरक्षाको स्थिती कस्तो छ भन्ने कुरा तपाईँ आफैंले अनुभूत गरिरहनु भएकै होला । पक्राउ परेकाहरुलाई अहिले छाडिदिनू भन्ने तहको आदेश गृहमन्त्री तहबाट आउन थालेपछि सुरक्षा निकायले कुन मनोबलका साथ काम गर्ला ? यो सहजै अनुमान गर्न सकिने विषय हो ।


प्रतिक्रिया दिनुहोस !
विचार